शिवसताक्षीमा उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच लफडा, अधिकृतले दिए पत्रकारलाई धम्की
(विनोद सापकोटा) शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले उपप्रमुख नरमाया कार्कीको कार्यकक्षमा मंगलबार अभद्र व्यवहार गरेका छन् ।
उपप्रमुख बसेको नजिकैको खाली कुर्सीलाई उनले लातले हानेर लडाए । समाचार स्रोतका अनुसार छलफल चलिरहेका बेला रिसले चुर भएका राईले जुरुक्क उठेर उपप्रमुख नजिकैको कुर्सी माथि लात्ती बर्साए र बैठक कक्षबाट बाहिरिए ।
घर नक्सा किर्ते प्रकरणका लागि चार महिना अघि गठन भएको छानबिन समितिले बुझाएको प्रतिवेदन उपर छलफलका लागि बोलाइएको बैठकमा आफू अनुकूलको प्रतिवेदन नआएको झोकमा कुर्सीमाथि लात्ती हानेका थिए । प्रमुख प्रशासकीय अधिकृतले दोषी देखिएका कर्मचारीको बचाउ गरिरहेको पनि समाचार श्रोतले बताएको छ ।
शिवसताक्षी नगर कार्यपालिकाको बैठकले नगरभित्रको घर नक्सा किर्ते प्रकरण को सत्य तथ्य छानबिनका लागि उपप्रमुख नरमाया कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। यस अघि पनि वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । सो समिति गएको साउनमा गठन भएको थियो । वडा अध्यक्ष फेउदिन नेतृत्वको समितिले मङ्सिरमा प्रतिवेदन बुझाए पनि स्वतन्त्र रुपमा नगर कार्यपालिकाले सार्वजनिक गरेको थिएन ।
पछिल्लो पटक गठन भएको समितिले बुझाएको प्रतिवेदन पनि प्रमुख प्रशासकीय अधिकृत राईले सार्वजनिक गर्न अटेर गरेका थिए । कतिपयले घर नक्सा किर्ते प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न नसक्नुलाई मिलेमतोको संज्ञा दिएका छन् ।
उपप्रमुख कार्की नेतृत्वको समितिले करिब ४ महिना लगाएर प्रतिवेदन तयार पारेको थियो। समितिले तयार पारेको प्रतिवेदन नगर कार्यपालिकाको बैठक मा नगरप्रमुख मेगाहाङ थोप्रालाई बुझाएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत राईले उक्त प्रतिवेदन अनुकूल नभएको भन्दै समय थपेर पुन प्रतिवेदन सच्याउन आग्रह गरिरहेका थिए। समितिले प्रमुख प्रशासकीय अधिकृतको मागलाई बेवास्ता गर्दै आएको थियो ।समितिका एक सदस्यका अनुसार समितिले सूक्ष्म अध्ययन र अनुसन्धान गर्दा जे देखियो प्रतिवेदनमा त्यै उल्लेख भएको बताएका छन् ।
समाचार स्रोतका अनुसार प्रतिवेदनमा घर नक्सा किर्ते प्रकरण कार्यमा दोषी देखिएका केही कर्मचारीलाई निलम्बन गर्न समितिले सिफारिस गरेको छ। समितिको सिफारिस प्रमुख प्रशासकीय अधिकृतलाई चित्त बुझेको छैन। दुई वटा समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न आलटाल गर्नु र निलम्बनको सिफारिस गरिएका कर्मचारीलाई बचाउन खोजेकै कारण मंगलबारको बैठकमा प्रमुख प्रशासकीय अधिकृत रिसाएको हुन सक्ने बैठकमै सहभागी ले बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृतले पदीय मर्यादा भुलेर आवेगमा कार्यालयकै कुर्सीमा लात्ती हान्नु अशोभनीय भएको प्रत्यक्षदशीले बताए । ‘कार्यालयको हाकिमले देखाएको हर्कत विल्कुलै अमर्यादित, अशोभनीय र केटाकेटी पन जस्तो देखिएको छ । उनलाई कारबाहीको दायरामा ल्याउन कार्यपालिकाले बाँकी राख्नु हुन्न ।’ स्थानीय एक नगरबासीलले भने, प्रमुख प्रशासकीय अधिकृत राईले नगरको कुर्सीलाई लात्ती हानेको घटनाले नगरवासीलाई गम्भीर चोट पुगेको छ ।
शिवसताक्षी नगरपालिकाको घर नक्सा शाखाबाट ०७२ साल यता जना सेवाग्राहीका प्रमाण पत्र नक्कली छन् । सेवाग्राहीले नगरका कर्मचारीलाई दिएको राजश्व राजश्व शाखामा दाखिला नगरी प्रमाण पत्र प्रदान गरिएका छन् ।
यसरी प्रदान गरिएका अधिकांश प्रमाण पत्रमा सरकारी छाप किर्ते गरिएको, कार्यालय प्रमुखको हस्ताक्षर किर्ते भन्ने गरिएको, प्रदान गरिएका प्रमाण पत्रको रेकर्ड कार्यालयमा नरहेको, राजश्व दाखिला नगरिएको, दर्ता चलानी को तथ्याङ्क नरहेको इन्जिनियरको हस्ताक्षर किर्ते गरिएको लगायत कम्तीमा १५० सेवाग्राहीको घर नक्सा प्रमाण पत्र किर्ते छन् । किर्ते प्रमाण पत्रको छानबिनका लागि नगर कार्यपालिकाले दुई वटा सम्म छानबिन समिति गठन गरेको थियो ।
घटनाको बारेमा नगर उपप्रमुख नरमाया कार्कीले कुनै प्रतिक्रिया दिएकी छैनन् । सञ्चारकर्मीले गरेको फोन उनले दुई पटक सम्म काटेकी छन् ।
यसैविच प्रमुख प्रशासकीय अधिकृत राईले स्थानीय पत्रकार विनोद सापकोटालाई प्रहरी लगाएर पक्राउ गर्ने धम्की दिएका छन् । समाचारमा आपत्ति जनाउँदै उनले पत्रकार सापकोटालाई स्वयम् फोन गरेर ‘तपाईँ कुन ठाउँमा हुनुहुन्छ ? त्यही प्रहरी लगाएर पक्राउ गर्न प्रहरी पठाउँछु ।’ पत्रकार सापकोटाले आफू घरैमा रहेकाले सम्मान जनक गिरफ्तारी दिने पनि बताएका छन् ।