भोकै गिरीबन्धु चिया बगानका मजदुर
बिर्तामोड । दैनिक पाँच सय रुपैयाँ हाजिरामा गिरीबन्धु टी–स्टेटमा का काम गेरेर ६ जनाको परिवार चलाउँदै आएका झापा बिर्तामोडका चन्द्रबहादुर सुनुवार दुई महिनाबाट ज्याला नपाएर भोकै बस्ने अवस्थामा पुगेका छन् ।
पाँच सय रुपैयाँ ज्यालाले दु:ख सुख हातमुख जोडेर छोरी समीक्षाको ‘कलेज फि’ जोहो गर्दै आएका सुनुवारसहित गिरीबन्धु टी–स्टेटमा कार्यरत १७० जना चिया मजदुरले दुई महिनाबाट ज्याला नपाएर भोकै बस्नु पर्ने अवस्था आएको हो। झापाको बिर्तामोड–६ र अर्जुनधारा–११ रहेको गिरीबन्धु टी–स्टेटमा कार्यरत चिया बगानका मजदुरहरूले फगुन २ गतेबाट ज्यला नपाएको चिया मजदुर एवम् मजदुर नेतृ सावित्रा बञ्जराले बताइन् ।
बन्जराले भनिन्, ‘चिया टिपेको ज्यालाबाट बिहान बेलुकाको दैनिकी चलाउने चिया मजदुरलाई किराना साहुले पनि बाँकी दिन छोड्यो,साहुले रासन उधारो नदिएपछि भोक भोकै काम गर्नु परेको छ ।’ भोकमरी सहेर पनि साहुको काम गरिरहेको बताउँदै बञ्जराले अनेक समस्याहरूका बाबजुद काम गर्नुपरेको बताइन् ।
उनले मजदुरको ज्याला दिलाई दिन सरोकारवालासँग पटक पटक आग्रह गर्दा पनि वास्ता नगरेको बताइन् । तत्कालै चिया मजदुरले पाउनुपर्ने ज्याला नपाए हप्ता दिनभित्र आन्दोलनमा जाने चिया मजदुरको भनाई छ । बञ्जराले भोकै काम गर्ने चिया मजदुरमाथि कुनै दुर्घटना भए त्यसको जिम्मेवारी सञ्चालकहरूले लिनुपर्ने बताइन्।
दुई दशकबाट चिया मजदुरको काम गर्दै आएकी बिमला उराउले भनिन्, ‘खाली पेटले धेरै दिन चियाका मुना चुड्न नसक्दैन, हातपाउ लल्याकलुलुक भइसके ।’ तीन पुस्ताले चिया टिपेको बगानमा अहिले आएर सञ्चालकहरूबाट मजदुरमाथि अन्याय भएको चिया मज्दु नारायण दर्जीको भनाइ छ । नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ गिरीबन्धु इकाईका अध्यक्ष नारायण दर्जीले श्रम गर्ने मजदुरले अब भोकै काम गर्न नसक्ने बताए । श्रम गर्ने मजदुरलाई तत्काल भुक्तानी दिन दर्जीले आग्रह गरे । ‘हामीले श्रमको मात्र पैसा मागेको हो, अरू केही मागेका छैनौँ,’ उनले भने,’८/१० वर्षदेखि मजदुरलाई बगान घाटामा छ भन्दै निरुत्साहित गर्ने गरिएको छ ।’ बगान फाँड्ने र घाटाको समस्या देखाउँदै मज्दुरलाई दिनुपर्ने ज्याला दिन कम्पनीले आलटाल गर्दै आएको चिया मज्दुर मिरा गोले तमाङ्गले आरोप लगाउनुभयो ।
यता, चिया मजदुर सुकमती देवानले दैनिक रुपमा चिया पत्ति टिपेर बुझाइरहँदा पनि कम्पनीले घाटा भएको बताउने गरेको जानकारी दिनुभयो । १२ दिनको तलब जबरजस्ती बुझ्नका लागि दबाब आइरहेको देवानको भनाई छ । उनले भने, ‘हामीलाई काम गरेको पूरा महिनाको तलब चाहिन्छ, होइन भने मान्ने वाला छैनौँ ।’ कम्पनीको तर्फबाट चिया बगान बन्द गर्ने जस्ता धम्की दिँदै मजदुरलाई ज्याला रोकिरहेको मजदुरहरुको भनाइ छ । बगानको स्याहारसमेत हुन छोडेको बताउँदै चिया मजदुर देवानले मजदुरको असुरक्षा भइरहेको बताइन् ।
बगानका व्यवस्थापक सन्तकुमार राईले कम्पनीसँग पैसा नभएका कारण भुक्तानी दिन नसकेको स्वीकार गरे । उनले आर्थिक सङ्कटकै कारण मजदुरको भुक्तानी रोकिएको दाबी गरे । ‘अलिकति भुक्तानी दिन खोजेका थियौँ,’ राईले भने, ‘उहाँहरूले लिन मान्नु भएन । केही दिनमा एक महिनाको तलब भए पनि दिने योजनामा छौँ, सिजन सुरु नभई सबै भुक्तानी दिन कठिन छ ।’