पर्वतीय देशहरुको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवाद नेपालमा हुने
काठमाडाैं । नेपालमा पर्वतीय देशहरुको जलवायु परिवर्तनसम्बन्धि अन्तर्राष्ट्रिय स्तरको संवाद हुने भएको छ । वन तथा वातावरण मन्त्रालयले सिंहदरबारमा पत्रकार सम्मेलन गरी आगामी जेठको ९ र १० गते सो संवाद गर्न लागिएको जानकारी गराएको हो ।
कोप—२८ मा नेपालले पारेको प्रभाव अनुसार सो अन्तर्राष्ट्रिय स्तरको संवाद कार्यक्रम नेपालमा नै गर्न सम्भव भएको वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले बताउनुभयो । उहाँले सो अन्तर्राष्ट्रिय स्तरको संवाद कार्यक्रमलाई सफल पार्न तीन वटै तहको सरकारलाई आह्वान गर्नुभयो । सगरमाथाजस्तो हिम शिखर उजाड भएकाले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्न पनि नेपालले सो संवाद कार्यक्रम आयोजना गर्नुपरेको स्पष्ट पार्नुभयो ।
पर्वतीय देशहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि सो संवाद कार्यक्रम सहयोगी हुने मन्त्रालयले जनाएको छ । सहसचिव महेश्वर ढकालले नेपालको पर्वतबाट स्वच्छ हावा र सफा पानी आउने र त्यसले विश्व समुदायलाई नै फाईदा पुग्ने भएकाले त्यस सम्बन्धमा छलफल गर्न सो संसद कार्यक्रम उपयोगी हुने बताउनुभयो ।