नेपाल–भुटान व्यापारमा ठूलो खाडलः नौ महिनामा ५० करोडभन्दा बढी घाटा
लक्ष्मी उप्रेती
मेचीनगर । भारत र बंगलादेशसँगको व्यापारमा घाटा खेपिरहेको नेपालले भुटानसँग पनि बर्सेनि घाटा बेहोरिरहेको छ । पूर्वी काँकरभिट्टा नाकाबाट मात्र मुलुकले चालु आर्थिक वर्ष २०८०–०८१ को पहिलो नौ महिनामा भुटानसँग ५० करोड रुपैयाँभन्दा बढी घाटा बेहोरिसकेको छ ।
नेपालले निर्यात गर्ने मालवस्तुको तुलनामा आयात बढी भएका कारण साउनदेखि चैत महिनाको अन्त्यसम्म यी दुई देशबीच हुने व्यापार भुटानको पक्षमा मजवुत छ । भूगोल, जनसंख्या तथा यातायात पूर्वाधारका हिसाबले नेपालभन्दा सानो मुलुक हो भुटान ।
यो अवधिमा आफूभन्दा सानो मुलुक भुटानबाट नेपालले ९० करोड ५७ लाख २८ हजार रुपैयाँ मूल्य बराबरको मालवस्तु आयात गर्दा ४० करोड ५६ लाख १५ हजार रुपैयाँ मूल्य बराबरको सामान काँकरभिट्टा हुँदै पठाएको मेची भन्सार कार्यालयले जनाएको छ । आयातभन्दा निर्यात ५५ प्रतिशतले कम भएका कारण नौ महिनामा नेपालले ५० करोड ११ लाख ३ हजार रुपैयाँ व्यापार घाटा बेहोरेको कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए ।
उनका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा नेपालले भुटानसँग ६६ करोड ६४ लाख ३८ हजार रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको थियो । ९६ करोड ३७ लाख ३९ हजार रुपैयाँ बराबरको सामान आयात गर्दा नेपालले २९ करोड ७२ लाख ९८ हजार रुपैयाँ मूल्यको मात्र सामान निर्यात गरेको कार्यालयको अभिलेखले देखाएको छ । जुन आयातको तुलनामा निर्यात ६९ प्रतिशतले कम हो । तर, अघिल्लो आवको तुलनामा आयात भने ५ करोड ८० लाख ८ हजार रुपैयाँ अर्थात ६ दशमलव शुन्य २ प्रतिशतले कम भएपनि निर्यात भने १० करोड ८३ लाख १७ हजार रुपैयाँ अर्थात ३६ दशमलव ४३ प्रतिशले बृद्धि भएको कार्यालयले जनाएको छ । हस्तकला, तयारी पोशाक, रत्नमाला तथा जडीबुटीका उत्पादनहरू, चाउचाउ, जडीबुटीका साबुन, पेस्टजस्ता वस्तुहरूको भुटानमा उच्च माग रहेको छ । त्यस्ता मालवस्तुहरुको गुणस्तर अहिलेसम्म कायम नै रहेपनि विगतमा पश्मिना सल तथा ऊनी गलैंचामा नेपालले गुणस्तर कायम गर्न नसकेपछि रातारात बजार गुमाउनुपर्दा यी दुई देशबीच हुने व्यापारमा ‘ठूलो खाडल’ देखिएको छ ।
भुटानबाट आयात हुने मुख्यः मालवस्तुमा जिप्सन (सिमेन्ट उद्योगहरूमा चाहिने कच्चा पदार्थ) पहिलो नम्बरमा छ । भुटानबाट आलु आदि कृषि उत्पादन पनि नेपाल आयात हुने गर्छ । तर ती वस्तुको मात्रा अन्य वस्तुको तुलनामा कम छ । त्यस्तै धातुका अवशेषहरु, स्न्याक्स नुडल्स, चीजवल, आलु चिप्सलगायत नेपालले निर्यात गर्ने मुख्यः मालवस्तुहरु हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नेपाल र भुटानबीच व्यापारसम्बन्धी पहिलो वार्ता २०१० र दोस्रो वार्ता २०११ मा भएको थियो । पहिलो र दोस्रो वार्ता भएको करिब आठ वर्षपछि तेस्रो वार्ता भएको थियो । तेस्रो वार्ताबाट भुटानसँग व्यापार सम्झौताका लागि बाटो खुलेको हो ।
व्यापार सम्झौताका लागि एउटा मस्यौदा नेपाल र भुटानलाई मान्य हुनेगरी तयार पार्ने सहमति भएको छ । नेपाल र भुटानबीचको व्यापारका लागि मुख्य नाका पूर्वी नाका काँकरभिट्टा रहेको छ । काँकरभिट्टाबाट करिब ५ घण्टाको यात्रापछि भुटान र भारतबीचको सीमा जयगाउँ–फुन्त्सोलिङ पुगिन्छ । यो नेपाल तथा भारतबाट भुटान प्रवेशका लागि मुख्यद्वार भएको व्यवसायीहरुको भनाई छ । उनीहरुका अनुसार नेपालबाट भुटान सामान निर्यात गर्दा होस् वा भुटानबाट नेपाल सामान आयात गर्दा भारतको पनि बाटो प्रयोग गर्नुपर्ने हुन्छ । नेपाल–भुटान व्यापारलाई दिगो र भरपर्दो बनाउन थुप्रै चुनौतीहरू नेपालसामु रहेको छ । जसको सम्बोधन अपरिहार्य रहेको सरोकारवालाहरुको भनाई छ ।
भुटान निर्यात हुने मालवस्तुका गुणस्तरका प्रावधानहरू अनुकूल नेपाली उत्पादनहरूलाई उपभोक्तामैत्री बनाउनु मुख्यः चुनौती रहेको बताइएको छ । भुटानले आयातमा प्रतिबन्ध लगाएको अवस्थामा नेपाली उत्पादनमा कैफियत देखिएमा भुटानले छुट दिन्छ होला भनेर नेपालले कल्पनासमेत पनि गर्न नसक्ने सरोकारवालाहरुको बुझाई छ । यी दुई देशबीच हुने व्यापारमा देखिएका चुनौतीहरु समाधान गर्ने हो भने नेपाल–भुटान द्विपक्षीय आर्थिक सम्बन्ध थप उचाइमा पुग्ने अर्थविद ज्ञानराज प्रसाईको भनाई छ ।