गृहमन्त्री लामिछानेकै सामुन्ने कांग्रेसको नाराबाजी : ‘सहकारी ठगलाई कारबाही गर’
काठमाडौँ । सहकारीको बचत हिनामिनामा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने शुक्रबारको बैठकमा आफूमाथि उठेका प्रश्नबारे जवाफ दिने ठाँटबाँटकासाथ उपस्थित भएका थिए । तर प्रमुख प्रतिपक्षी कांग्रेसले लामिछानेविरुद्ध नै प्रतिनिधिसभाको बैठकमा नाराबाजी गर्यो- सहकारी ठगलाई कार्बाही गर ।
सबै प्रमाणहरू बाहिरिइसक्दा पनि आफूविरुद्ध उजुरी नरहेको दाबी गर्दै महान्यायाधिवक्ताको कार्यालयबाट चिठ्ठी बनाएका लामिछानेलाई कांग्रेस सांसद्हरुले कारबाही माग गरेका छन् । प्रतिनिधिसभाको बजेट अधिवशेन सुरु भएकै दिन कांग्रेसले सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्न माग गरेर बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाका दुइटा बैठक बसे ।
ती दुवै बैठकमा कांग्रेस सांसद्हरुले वेल घेराउ गर्दै नाराबाजी गरे । दोस्रो बैठकमा कांग्रेस सांसदहरूको नाराबाजीका बीचमा सभामुख देवराज घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्नका लागि समय दिएका थिए । तर लामिछाने कांग्रेसले घेरिरहेको वेल छिचोलेर रोस्ट्रममा बोल्न जान पाएनन् । त्यसपछि प्रतिनिधिसभाको बैठक जेठ १ सम्मका लागि स्थगित भएको छ ।आजको कान्तिपुर दैनिकमा खबर छ ।