गोली लागि घाइते किशोरीलाई स्ट्रन लाइन्सको सहयोग
झापा । एक व्यक्तिको गोली प्रहारबाट घाइते भएकी किशोरीको उपचारका लागि लाइन्स क्लब अफ स्ट्रन दमकले आर्थिक सहयोग गरेको छ । लाइन्स क्लब अफ स्ट्रनले नगद १५ हजार रुपैयाँ किशोरीकी दिदी दुर्गा गजमेरलाई हस्तान्तरण गरेको हो ।
गत २१ बैशाखमा एक व्यक्तिले गोली प्रहार गर्दा हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत ती किशोरी गम्भीर घाइते भएकी थिइन् । उपचारमा पैसा अभाव भएपछि उनको परिवारले आर्थिक सहयोगको अपिल गरेको थियो । उनी अहिले लाइफलाइन अस्पताल दमकमा उपचाररत छिन् । अस्पताल र फार्मेसीमा ६ लाख बढी रकम उपचारबापत खर्च लागिसकेको छ । किशोरीको उपचारका लागि विभिन्न संघसंस्था तथा व्यक्तिले हालसम्म एक लाख १५ हजार हाराहारी सहयोग गरिसकेका छन् । तर, उनलको उपचारमा यति मात्र पर्याप्त नभएको किशोरीकी दिदी दुर्गाले बताइन् । ती किशोरी खर्च अभावले अस्पतालबाट डिस्चार्ज हुनै सकेकी छैनन् ।