सशस्त्रले बिजबिजक भएको वैध सामानलाई अवैध भन्यो, मेची भन्सारले क्षेत्राधिकार मिच्यो
झापा । व्यवसायीले बिजबिजक देखाउँदा देखाउँदै गोदामबाट जबरजस्ती उठाइएको लत्ताकपडा सशस्त्र प्रहरीले नियम मिचेर भन्सार बुझाइको पाइएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाले पनि आफ्नो क्षेत्राधिकार मिच्दै सशस्त्रले लगेको सामान हचुवाको भरमा बुझेको पाइएको छ । सशस्त्रले बिजबिजक भएको सामान आवश्यक कारबाहीका लागि भए राजश्व अनुसन्धान कार्यालय बुझाउनु पर्ने हो ।
मेचीका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी बिदामा काठमाडौँ रहेका बेला सशस्त्रले गोदामबाट लगेको लत्ताकपडालाई बेवारिसे अवस्थामा भेटिएको भन्दै भन्सार बुझाएका थिए । झापाका प्रहरी, प्रशासन प्रमुखहरुको दबाबमा प्रमुख भन्सार अधिकृत रेग्मीले फोनमार्फत नै भन्सार कर्मचारीलाई सशस्त्रले ल्याएको सामान बुझ्न ठाडो आदेश दिएका थिए ।
प्रमुख भन्सार अधिकृत रेग्मीको आदेश पालना गर्दै कर्मचारीले सामान बुझ्न बाध्य भएको भन्सार स्रोतले जनाएको छ । भन्सार स्रोतले भन्यो, ‘प्रमुख भन्सार अधिकृत ज्युले सशस्त्रले ल्याएको सामान अहिले बुझ्नुहोस्, म आएर हेरौला के रहेछ भनेपछि सामान मुद्दाका फाँटका कर्मचारी बुझेका थिए ।’ भद्रपुर भन्सार कार्यालयले बुझ्न नमानेको सामान मेची भन्सारले बुझेपछि प्रहरी, प्रशासन प्रमुखहरूको हस्तक्षेपप्रति व्यवसायीहरू असन्तुष्ट देखिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित, सीमा सुरक्षा गुल्म घेरावारिका डीएसपी प्रभातकुमार गौतमले कचनकवल गाउँपालिका–६ बनियानीस्थित जमनाल मियाँको घर भाडा लिएर राखिएको गोदामबाट जबरजस्ती लत्ताकपडा भन्सार पु¥याएपछि ए.के सप्लायर्सका सञ्चालकका अरुण साह पनि भन्सार पुगेका थिए । साहले लत्ताकपडा खरिद गरेको बिक्रेताको भ्याट बिलसहित भन्सार पुगे ।
‘प्रमुख भन्सार अधिकृत रेग्मी सर बिदा हुनुहुन्छ, उहाँ आएपछि आउनु होला भनी त्यहाँका कर्मचारीले मलाई फर्काएका थिए,’ व्यवसायी साहले भने । प्रमुख भन्सार अधिकृत रेग्मी आइतबार कार्यालयमा हाजिर भएका थिए । व्यवसायी साह सामानको बिलबिजकसहित आइतबार नै भन्सार पुगेका थिए । ‘तर, प्रमुख भन्सार अधिकृत रेग्मीले सामानको बिलबिजक नै हेर्न मान्नु भएन,’ व्यवसायी साहले भने, ‘उहाँले उल्टै धम्काउनु भयो, यो सामान जफत भइसकेको छ, ४८ लाख धरौटी रकम बुझाउनु होस्, अनि प्रक्रिया अघि बढ्छ ।’ आफू बिदामा बस्ने । अनि अहिले बिलबिजक हेर्दिन भन्न मिल्छ ? सशस्त्रले पनि भ्याट बिलको ओसी पेपर सामानसहित लगेको थियो ।
‘सशस्त्रले पनि बिल बुझाएन,’ उनले भने, ‘सशस्त्रले बिल नबुझाउने र भन्सारले बिल हेर्न मिल्दै भन्न पाइन्छ र ?’ गोदामबाट सशस्त्रले लगेको सामान अनुज टेड्रिङ्ग एन्ड सप्लायर्स भद्रपुर र जय श्री दुर्गा भवानी स्टोर बिर्तामोडबाट खरिद गरी ल्याएर राखेका थियौँ । सशस्त्रले दादागिरी शैलीमा वैध सामानलाई अवैध भन्न मिल्छ ? सशस्त्रले लगेको सामान किन भद्रपुर भन्सार बुझाएन ? राजश्व अनुसन्धान कार्यालय किन लगेन ? ‘राजश्व लगेको भए बोल्ने बाटो हुँदैन थियो, राजश्वले जे कारबाही गर्थ्यो, भोग्न तयार हुन्थ्यौँ,’ उनले भने ।
जिल्लाका प्रहरी, प्रशासन प्रमुखहरू सानो व्यवसायीलाई विस्थापित गराउने खेलमा लागेको उनको आरोप छ । अब यस बारेमा अदालत जाने उनको भनाई छ । गत जेठ ७ गते दिउँसो करिब १ बजेको समयमा सशस्त्रका डीएसपी गौतम नेतृत्वको टोलीले सप्लायर्सका सञ्चालक साहको सामान राखिएको मियाँको घर गोदाम घेराउ गरेपछि आन्तरिक राजश्वका कर कार्यालयका कर अधिकृत तिलक थापा मगर र नायव सुब्बा विशाल काफ्ले पनि घटनास्थल पुगेका थिए ।
उनीहरूले सामान अनुसारको बिलबिजक मिलाउन नसकेपछि बिचमै छाडेर हिँडेका थिए । यता सशस्त्रले वेवारिसे अवस्थामा भन्सार छलिका सामान भेटिएको भनि भन्सार बुझाएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिएका छन् । सशस्त्रले सामानसहित बिल नल्याएपछि बुझ्न बाध्य भएको उनको भनाई छ । बिलबिजक भएको सामान राजस्व अनुसन्धान कार्यालय इटहरी लैजानु पर्नेमा सशस्त्रले २३ पोका कपडा ४८ लाख १८ हजार ७०० मूल्य तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाएपछि सशस्त्र र भन्सार विवाद तानिएको हो ।