मनसुनको सुरुवातमै पूर्वी पहाडमा बाढीपहिरो
झापा । मनसुनको सुरुवातमै पूर्वी पहाडका संखुवासभा र ताप्लेजुङमा बाढीपहिरो सुरु भएको छ । बिहीबार सडकमाथिबाट खसेको पहिरोमा पुरिएर ताप्लेजुङमा काबेली तेस्रो जलविद्युत् परियोजनामा कार्यरत मजदुर २५ वर्षीय सबिन राईको मृत्यु भएको छ । परियोजनास्थल सिरिजंघा गाउँपालिका–७ खेबाङको सिरिसे खोल्सामा सामान बोकेर जाँदै गरेको मे १ त ७९६९ नम्बरको ट्याक्टरमाथि पहिरो खस्दा सहचालक राईकोे घटनास्थलमै ज्यान गएको ताप्लेजुङ प्रहरीका सूचना अधिकारी कमलकुमार लुंगेलीले जानकारी दिए । ट्याक्टरचालकले भने भागेर ज्यान जोगाएका थिए ।
त्यस्तै, संखुवासभामा पहिरोले चार घर बगाएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता इन्स्पेक्टर रामकुमार लामिछानेका अनुसार खाँदबारी– ११ सिम्लेका मणिप्रसाद राई, रामप्रसाद राई, वीरबहादुर राई, रत्नबहादुर राईको घर र गोठ बगाएको छ । बर्खा लागेपछि अधिकांश लेकमा रहेका घरमा बस्ने भएकाले मानवीय क्षति भने खासै नभएको उनले बताए । घटनाका वेला मणिप्रसाद भने त्यहीँ भएकाले सामान्य घाइते भएको लामिछानेले बताए । इन्स्पेक्टर लामिछानेका अनुसार स्थानीय खोल्सीमा आएको बाढीका कारण खाँदबारी–४ भ्याङखोलामा अन्य ६ घर पनि जोखिममा छन् । वर्षाका कारण चिचिला गाउँपालिका जोड्ने तीन ग्रामीण सडक पनि अवरुद्ध भएका छन् ।
बुधबार रातभरको वर्षाका कारण ताप्लेजुङको तमोर नदी, सिँसावा खोला र सिस्ने खोलाका विभिन्न पाँच ठाउँमा रहेका काठेपुल (गाडी गुड्ने काठका पुल) बाढीले बगाएको छ । यातायात सेवा अवरुद्ध बनेको छ । फत्ताङलुङ गाउँपालिकास्थित तमोर नदीको छिरुवा र तापेथोक बगरमा लगाइएको अस्थायी काठेपुल बाढीले बगाएको छ । तापेथोकस्थित सिँसावा खोला तथा फुङलिङ नगरपालिका–१ फुरुम्बु र फत्ताङलुङ गाउँपालिका–३ लिमीको सिमाना भएर बग्ने सिस्ने खोलामा पनि दुई काठेपुल बगाएको छ । सिँसावा खोलाको पुल बाढीले बगाउँदा त्रिदेशीय सडक रहेको तमोर करिडोरमा आवजावत बन्द भएको छ ।
मनसुनको सुरुमै बाढी र पहिरोले क्षति गराए पनि सरकारले पूर्वतयारीमा भने ध्यान दिएको छैन । गत वर्ष विस्थापित भएकाहरूलाई पुनस्र्थापित गर्न र बाढीपहिरोमा परी बेपत्ताको खोजी गर्न सरकार अक्षम देखिएको छ । गत वर्ष पनि कोशी प्रदेशको पहाडी जिल्लामा बाढीपहिरोले ठूलो क्षति पुर्याएको थियो । संखुवासभा, ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा मानवीय क्षतिसमेत भएको थियो । संखुवासभामा गत वर्ष बेपत्ता भएका २० जना अझै फेला पर्न सकेका छैनन् । प्रदेश प्रहरी कार्यालयका अनुसार कोशीमा चालू आर्थिक वर्ष ०८०–८१ को जेठ मसान्तसम्म बाढी पहिरोमा परी ११ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा ४ जना घाइते भएको कार्यालयले जनाएको छ । यस्तै, पाँच करोड ६८ लाखबराबरको क्षति भएको छ ।
प्रहरीले भने कोशीमा बर्खायाममा बाढीपहिरोबाट हुन सक्ने क्षति न्यूनीकरण, उद्धारका लागि प्रहरी तैनाथ गरिएको प्रदेश प्रहरी कार्यालय कोशीका प्रवक्ता प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए । उनका अनुसार प्रदेशभरिका ९० जना प्रहरीलाई विपत्मा उद्धारका लागि तालिम दिइएको छ । यस्तै, हरेक जिल्ला प्रहरी कार्यालय, गण, विशेष गण तथा विपत् व्यवस्थापन गुल्ममा तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको उनले बताए । ‘प्रदेश सरकारको सहयोगमा विपत् सामग्री खरिद गरिएको छ । विपत्मा तत्काल उद्धारमा खटिने गरी तयारी अवस्थामा छौँ,’ उनले भने, ‘हरेक जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयमा विपत् डेस्क स्थापना गरेका छौँ । जसले विपत्मा हुने क्षति न्यूनीकरण, उद्धार र समन्वयमा सहयोग गर्छ ।’