गौरीगञ्ज गाउँपालिकाको बजेट ४९ करोड ५३ लाख
झापा / झापाको गौरीगञ्ज गाउँपालिकाले आगामी आर्थिक २०८१/८२ को लागि ४९ करोड ५३ लाख ७१ हजार ८ सय ५१ रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । उक्त बजेट पालिकाकी उपाध्यक्ष पूजन न्यौपाने कुँवरले आइतबार १५ औं गाउँ सभाको दोस्रो बैठकमा प्रस्तुत गरेकी थिइन् ।
उपाध्यक्ष न्यौपानेद्वारा प्रस्तुत अनुमानित बजेटमा कुल खर्च चालुतर्फ ९ करोड ५३ लाख रुपैयाँ छुट्टाइएको छ । पुँजीगत तर्फ ६५ लाख खर्च हुने अनुमान गरिएको छ । त्यसैगरी वडागत बजेट सिलिङ अन्तर्गत वडा १ लाई ४५ लाख, वडा २ लाई ४० लाख, वडा ३ लाई ४० लाख, वडा ४ लाई ४० लाख, वडा ५ लाई ४० लाख र वडा ६ लाई ४० लाख रुपैयाँ बजेट छुट्टाएको छ ।
सामाजिक विकास अन्तर्गत शिक्षामा २ करोड ५० लाख, स्वास्थ्यतर्फ १ करोड ५०लाख, कृषि तथा पशु सेवामा २ करोड तीस लाख, उद्यम विकास तथा आयमूलक सीपमूलकमा १५ लाख, युवा तथा खेलकुदमा १५ लाख, संस्कृति प्रवर्द्धनमा १५ लाख, महिला लक्षित कार्यक्रममा १८ लाख, बालमैत्री गाउँपालिकामा २० लाख, आदिवासी जनजाति लक्षित कार्यक्रममा ७ लाख, दलित समुदाय लक्षित कार्यक्रममा ३ लाख, ज्येष्ठ नागरिक लक्षित कार्यक्रममा ३ लाख, खानेपानी तथा सरसफाइमा १० लाख, मधेसी मुस्लिम र पिछडा वर्ग लक्षित कार्यक्रममा ३ लाख र अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम ९ प्रदेश सरकार, गाउँपालिका र करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय साझेदारीमा ५५ लाख रुपैयाँ बजेट छुट्ट्याइएको छ ।
गाउँपालिका अगाडि स्मारक निर्माणका लागि १० लाख र प्रत्येक वडाका १०० विपन्न घर परिवारलाई ८०/२० लागतमा साझेदारीमा स्वास्थ्य बिमा सेवा १६ लाख असी हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।