बन्दैछ मेचीनगरमा दुई ठूला सडक आयोजना
पुष्कर गुरागाईं
मेचीनगर । मेचीनगरको दुईवटा ठूला महत्वपूर्ण गौरवको आयोजना मध्ये सूर्योदय (सहिद विश्वनाथ घिमिरे) मार्ग १४ महिनामा कालोपत्रे सक्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको छ ।
मेचीनगर नगरपालिका र झापाको कनकाई अन्तर्राष्ट्रिय विल्डर्स प्रालि सुरुंगासँग सहिद विश्वनाथ मार्ग कालोपत्रे बनाउने गरी सम्झौता भएको हो । नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेतीको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी र कनकाई अन्तर्राष्ट्रिय विल्डर्स प्रालिका तर्फबाट व्यवस्थापक लीलाराज सिलवालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार निर्माण कम्पनीले विश्वनाथ मार्गको कालोपत्रे सडक आगामी १५ जुलाई २०२५ मा नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने छ । बिश्व बैंकको लगानीमा बन्ने सहिद विश्वनाथ मार्ग कनकाईले ३० करोड ८७ लाख ५७ हजार ९१८ रुपैयाँ २० पैसामा ठेक्का पारेको छ । कनकाईले मेचीनगर–६ को काँकरभिट्टास्थित बर्मेली टोलदेखि वडा नम्बर ५ र ४ को बाहुनडाँगीसम्मको ८ दशमलव ३८० किलोमिटर सडक बनाउनु पर्नेछ ।
यता, मेचीनगरको अर्को ठूलो महत्वपूर्ण गौरवको आयोजना सहिद विरेन राजबंशी (सहिद विरेन मार्ग) मार्ग चौध महिनामा कालोपत्रे सक्नु पर्नेछ । सहिद विरेन मार्गको ठेक्का भारतको श्रीराम टावर कनकारवाग कम्पनीले लिएको छ । उक्त कम्पनीले सहिद मार्गको कालोपत्रे सडक आगामी १५ जुलाई २०२५ मा सक्नु पर्ने छ । सहिद विरेन मार्ग कनकारवाग कम्पनीले २७ करोड २१ लाख ३ हजार ९३१ रुपैयाँ ७० पैसामा ठेक्का पारेको छ ।
उक्त कम्पनीले मेचीनगर–१० को धुलाबारीदेखि वडा नम्बर ९ को थोप्लेविरान सामुदायिक वनसम्मको ५ दशमलव ४७० किलोमिटर सडक निर्माण गर्नुपर्ने छ । नगरपालिकाले ७ जनवरी २०२४ मा उक्त सडकहरुको टेण्डर आह्वान गरेको थियो । सोही अनुसार अब चाँडै निर्माण कम्पनीले सर्वे गरेर काम सुरु गर्नेछ । यसअघि नगरपालिकाले डीपीआर समेत तयार गरिसकेको छ ।
भारतको कनकारवाग कम्पनीसँग नगरपालिकाले सहिद विरेन मार्ग सडकको कालोपत्रे बनाउने सम्झौता गरिने बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी दिए । मेयर बुढाथोकी, उपमेयर उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अधिकारीले २ वटै ठूला सडक २० वर्षसम्म टिक्ने पूर्वपश्चिम राजमार्ग बाहेक नगरको पहिलो गौरवको आयोजना रहेकाले सबै नगरवासीले सहयोग गर्न आगह गरेका छन् ।
नगरका फोकल पर्सन एवम् इन्जिनियर जीवन भट्टराई, सुपरीवेक्षण, तथा गुणस्तर नियन्त्रण इन्जिनियर अजितकुमार चौधरी, कनकाई विल्डर्स प्रालिका व्यवस्थापक सिलवाल, इन्जिनियर विदुर मैनाली लगायतले दुईवटै सडकको काम सुरु गरिने बताए ।