भूमाफियाको सेटिङमा यातायात व्यवस्था कार्यालय सार्ने चलखेल
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको यातायात व्यवस्था कार्यालय अन्यत्र सार्ने खेल सुरु भएको छ । सेवा प्रवाहका लागि ठाउँ अभाव भएको देखाउदै बिर्तामोड –३ भगवान चोकदेखि दक्षिण क्षेत्रमा ८ वर्षअघि निर्माण गरिएको यातायात व्यवस्था कार्यालय बिर्तामोड –७ को गरामनी चोक उत्तर समावेशी टोल क्षेत्रमा लैजाने भित्रभित्रै तयारी भइरहेको बुझिएको छ ।
यातायात व्यवस्था कार्यालयलाई वडा नं. ७ मा भवन निर्माण गर्नलाई चन्द्र ओलीले १२ कठ्ठा जमिन सहयोग गर्ने बुझिएको छ । जग्गादाताले सहयोग गर्ने भएपछि मन्त्रालयले यातायात कार्यालय झापालाई पत्राचार गरेर प्रक्रिया अघि बढाउन भनेको थियो ।
यातायात व्यवस्था कार्यालय झापाका निमित्त प्रमुख बाबुराम शर्मा लुइटेलले मन्त्रालयबाट जग्गा प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउन पत्र आएको जानकारी दिए । जग्गादाताले यातायातका लागि जग्गा उपलब्ध गराउने भन्दै निवेदन दिएपछि मन्त्रालयले सोही अनुसार कार्यालयलाई पत्र पठाएको थियो ।
समितिको संयोजक जग्गा भएको पालिकाको प्रमुख हुने व्यवस्था अनुसार यातायात कार्यालयले बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई भेट गरेर उक्त पत्रबारे जानकारी गराएको थियो । भेटमा नगर प्रमुख प्रसाईले राम्रोसँग अध्ययन गरेर मात्रै अघि बढ्नु पर्ने भएकाले केहि समय पर्खन सूझाव दिएको यातायातका निमित्त प्रमुख लुईटेलले जानकारी दिए । जग्गा प्राप्तिका लागि समितिको सिफारिस मालपोत कार्यालयलाई पठाएपछि मात्रै प्रक्रिया अघि बढ्ने बुझिएको छ ।
मेयर सापसँग कुराकानी भइसकेपछि थप प्रक्रिया अघि बढाएको छैन, लुइटेलले भने – मौखिक रुपमा मेयरसँग भएको कुराकानी मन्त्रालयमा जानकारी गराएको छु ।
कार्यालयको प्रकृति अनुसार ठाउँ अभाव भएर पनि मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउन भनेको हुन सक्ने यातायात कार्यालयका निमित्त प्रमुख लुईटेलको धारणा छन् । अहिलेको कार्यालय पनि दाताले उपलब्ध गराएको २ कठ्ठा जमिनमा बनेको हो । जग्गादाता बद्री खड्काको परिवारले करिव ४ करोड मुल्य बराबरको जमिन यातायातलाई सहयोग गरेका थिए ।
कार्यालयका निमित्त प्रमुख लुईटेलका अनुसार ठाउँ अभावका कारण मासिक १ लाख रुपैयाभन्दा बढि भाडा तिरेर खाली जमिन प्रयोग गर्नु परेको छ । यातायातले लाइसेन्स, प्राविधिक शाखा, पार्किङ लगायतका लागि ५ कठ्ठा जग्गा भाडामा लिएर प्रयोग गर्दै आएको छ । लिखित परीक्षाका लागि पनि हल भाडामा लिएर सञ्चालन गर्नु परेको लुईटेलको भनाई छ ।
वर्षमा लाखौं रुपैयाँ भाडा मै जान्छ, उनले भने – पर्याप्त ठाउँ नहुँदा सेवाग्राहीलाई पनि समस्या छ , पार्किङ समेत साँघुरे भएपछि सेवाग्राहीले बाटोमै पार्किङ गर्ने गरेका छन् । लुईटेलका अनुसार सेवाग्राहीलाई सहज हुने र सवारी आवागमनका लागि सुविधा भएको ठाउँमा कार्यालय हुनुपर्छ । यातायात कार्यालयमा आउनेहरु सवारी लिएरै आउने हुन्, आउने सेवाग्राहीहरुका लागि पार्किङको व्यवस्था हुनुपर्छ ।
जग्गा प्राप्ति समितिको अध्यक्षमा नगर प्रमुख पवित्रा महतारा प्रसाई, सदस्य सचिव मालपोत कार्यालयको प्रमुख, सदस्यहरुमा नापी कार्यलय, जिल्ला प्रशासन कार्यालयबाट अधिकृत प्रतिनिधि र यातायात कार्यालयको प्रमुख सदस्य रहेका छन् ।
भाडामा प्रयोग गरेकै जग्गा खरिद गरेर पर्याप्त ठाउँको व्यवस्थापन गर्न हुदैन ? भन्ने जिज्ञासामा जवाफ दिदैं लुईटेलले भने – खरिद गर्ने भन्दा कोहि दाताले निशुल्क उपलब्ध गराएको जग्गामा किन नजाने भन्ने हो । उनले नयाँ ठाउँमा कार्यलय यदि सार्ने काम भए पनि अहिलेको भवन यातायात कार्यालयले प्रयोग गर्ने जानकारी गराए ।
यता, यातायात कार्यलय परिसरमा व्यवसाय सञ्चालन गर्दै आएका स्थानीय भुपाल सापकोटाले सेवाग्राहीहरुका लागि कार्यालय अन्यत्र सार्नु मुनासिव नभएको बताएका छन् । उनले राजमार्गबाट ५ सय मिटरभित्र कार्यालय रहेका कारण सेवाग्राहीलाई सुविधा भएको बताए ।
अर्को ठाउँमा कार्यालय लैजानुपर्ने कुनै कारण नभएको उनको भनाई छ । जग्गा अभाव भए दाता तयार भएको सापकोटा बताउँछन् । कार्यालय भएकै ठाउँमा स्थापित गर्नुपर्ने उनको धारणा छ । करोडौं पर्ने जमिन जग्गादाताले दिएको ठाउँ छोडेर जान नहुने उनको भनाई छ । जमिन अभाव भएको खण्डमा दाताहरु सहयोग गर्न तयार हुनुहुन्छ, सापकोटा भन्छन्– ‘दाताहरु आवश्यक पर्ने जग्गामध्ये केहि जमिन सहयोग गर्न तयार हुनुहुन्छ । केहि खरिद गरे हुन्थ्यो भन्ने मनस्थितिमा हुनुहुन्छ । २ कठ्ठामा सञ्चालन भइरहेको कार्यालयलाई थप ३ कठ्ठा जोड्न सके हुन्थ्यो ।’
नयाँ ठाउँमा जाँदा भवन निर्माणमा लाग्ने बराबरको बजेटले जमिन खरिद गर्ने हो भने अर्को ठाउँमा जानै नपर्ने स्थानीयको भनाई छ । सापकोटाले यातायात व्यवस्था कार्यालय सार्ने खेल ‘भूमाफिया’ हरुले गरिरहेको आरोप समेत लगाएका छन् । भएको संरचना छोडेर जानु भनेको अख्तियारकै दुरुपयोग हुने उनको दावी छ । यातायात व्यवस्था कार्यालय सार्ने काम जनविरोधी भएकाले रोक्नुपर्ने प्रतिक्रिया दिए ।
यातायात व्यवस्था कार्यालय उक्त ठाउँमा स्थापना गरेपछि करिव २ सय सटरमा स्थानीयले व्यवसाय सञ्चालन गरिरहेका छन् । स्थानीय व्यवसायीहरुले कार्यालय सञ्चालनमा आएसँगै करोडौं रुपैयाँ व्यापारमा लगानी गरेका छन् । स्थानीय अगुवा समेत रहेका सापकोटाले यातायात कार्यालयले माथिल्लो तलाबाट पनि कार्यसम्पादन गर्नुपर्ने बताए । माथिल्लो तलाको प्रयोग हुन नसकेको भन्दै उनले काममा प्रयोग गर्न आग्रह गरेका छन् । इजलास डटकमबाट