स्थानीय परिकारले पर्यटकको मन जित्दै माइपोखरी
गोविन्द पौडेल
इलाम । चर्चित पर्यटकीय स्थल माइपोखरीको धार्मिक महत्वसँगै स्थानीय परिकारले पर्यटकको मन जित्न थालेको छ । सन्दकपुर गाउँपालिका- ३ र १ मा पर्ने २१ सय २१ मिटरको उच्चाईमा रहेको रामसार क्षेत्र माइपोखरी १२- ८ हेक्टरमा फैलिएको छ । जसमा पोखरीले मात्र ८ हेक्टर क्षेत्र ओगटेको छ ।
जैविक बिभिधताले भरिपूर्ण यस पोखरी परिसरमा जडिबुटि ६४ र स्तनधारी १८ प्रजाति, ठकठके, गलैचे झ्याउजस्ता लोपउन्मुख वनस्पति पाइने गरेको छ । त्यहाँ दर्शन गर्नाले मनोकामना पूरा हुने हिन्दु, वौद्ध, किरातलगायत सबै समुदायको विश्वास रहेको सन्दकपुरका जनप्रतिनिधि कुमार गुरुङले बताउँछन् । इलाम सदरमुकामबाट १८ किमिको दूरीमा रहेको माइपोखरी पुग्न यातायातको सहज पहुँच छ ।
पर्यटकको चाँपसँगै होटल र होमस्टे खाजाघरको उचित व्यवस्था रहेको माइपोखरी परिसरमा स्थानीय परिकारसेत पाइन्छ । यहाँ मकै,कोदो, फापरको भात र परिकार, स्थानीयस्तरमा उत्पादन हुने आलु, लोकल कुखुरा, जडिबुटि मिसाइएको टिम्मुर, चिम्पिङ, किवि मिश्रित जडिबुटि र गुँरासको वाइन पाइने होटल व्यवसायी निमदोर्जे शेर्पाले बताए । यहाँ हिउँदको समयमा आसपासमा पाइने तरकाकारी नै प्रयोगमा ल्याइने गरेको उनी बताउँछन् । यस्तै, बर्खामा आसपासको गाउँबाट ल्याइने उनले बताए ।