आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा अघिल्लो वर्षको तुलनामा २० करोड बढी राजस्व संकलन
झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले गत आर्थिक बर्षको भन्दा २० करोडबढी राजश्व संकलन गर्न सफल भएको छ ।अघिल्लो आर्थिक वर्षमा ३ अर्ब १ करोड ५९ लाख ७६ हजार राजस्व सङ्कलन गरेकोमा आर्थिक वर्ष २०८०/०८१ मा २० करोडबढी ३ अर्ब २१ करोड १२ लाख ६७ हजार रुपैयाँ राजस्व उठाउन सफल भएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए ।
३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको कार्यालयले अपेक्षित राजस्व संकलनको ८४ दशमलव ५७ प्रतिशत मात्रै राजस्व उठेको छ ।
राजस्व संकलनको लक्ष्य पूरा गर्न नसकेपनी अघिल्लो बर्षको तुलनामा २० करोड बढी राजस्व संकलन भएको हो ।
बजारमा देखिएको कारोबारको अवस्था हेरेर अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलन सन्तोषजनक रहेको प्रमुख कर अधिकृत काफ्लेको भनाई छ ।
आयकरमा ६ दशमलव ७ प्रतिशत आम्दानी भएको छ । त्यस्तै भ्याटमा १० प्रतिशत कर संकलन वृद्धि भएको छ भने अन्त:शुल्कको कर संकलन घटेको अधिकृत काफ्लेको भनाई छ ।
झापामा दुईवटा मदिरा उद्योग बन्द भएका कारण पनि अन्तशुल्क शीर्षकमा कर संकलनमा कमी आएको कार्यालयको बुझाई छ ।
इलाम, झापा, पाँचथर र ताप्लेजुङ जिल्लाको मुख्य कार्यालयको रुपमा रहेको आन्तरिक राजस्व कार्यालय भद्रपुरले आगामी दिनमा स्थानीय उद्योग बाणिज्य संघसँग सहकार्य एबम् समन्वय गरेर अघि बड्ने तयारी गरेको छ ।
त्यसका लागि बजार अनुगमन, दर्ता नगरी चलाएका ब्यवसायीलाई दर्ताको प्रक्रियामा ल्याउन, बिलिङको अवस्था बुझ्दै घट्दो आयातलाई बढाउने बारेमा समन्वय र जनचेतनामुलक गतिविधि गर्ने जस्ता योजना अघि सारेको प्रमुख कर अधिकृत काफ्लेको भनाई छ ।