मौद्रिक नीति आज
काठमाडौँ । सरकारले बजेटमार्फत तय गरेको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि आवश्यक कर्जा विस्तार हुने गरी शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने भएको छ । एक साताअघि नै ल्याउने तयारी रहे पनि सरकारको हस्तक्षेपले जारी हुन नसकेको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्न लागिएको हो ।
‘शुक्रबार बिहान सञ्चालक समितिको बैठक डाकिएको छ, त्यहाँबाट पारित गरेर, भोलि नै सार्वजनिक गर्ने तयारी छ,’ स्रोतले भन्यो, ‘बोर्डबाट पारित भएपछि राष्ट्र बैंकको वेबसाइटमार्फत सार्वजनिक गर्ने, त्यसपछि मात्र पत्रकार सम्मेलन गरी जिज्ञासा समाधान गर्ने कार्यक्रम छ ।’ राष्ट्र बैंकले गत साता नै आन्तरिक तयारी सकिसकेकाले सरकारको सुझाव समावेश गरेर जारी गर्न लागेको हो ।