झापामा ४ लाख ४० हजार बिरुवा वितरण गरिँदै
झापा । झापामा यो वर्ष रू ४० लाख बराबरको बहुमूल्यसहित विभिन्न प्रजातिको बिरुवा वितरण गरिँदै छ ।
डिभिजन वन कार्यालय झापाले रू ४० लाख बराबरको चार लाख ४० हजार बिरुवा वितरण गरिररहेको कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिनुभयो ।
कार्यालय मातहतको सुरुङ्गा, झिलझिले, मेचीनगर, भद्रपुर र हल्दिबारीका नर्सरीबाट उत्पादन गरिएको उक्त संख्याको विरुवा वितरण भइरहेको उहाँले बताउनुभयो । “मागको आधारमा बिरुवा वितरण भइरहेको छ”, सूचना अधिकारी पुरीले भन्नुभयो, “आवश्यकता अनुसार व्यक्ति तथा वन लगाउन चाहनेहरुले बिरुवा लगिरहनुभएको छ ।”
कार्यालयले सेतो रक्तचन्दन, श्रीखण्ड, रुद्राक्ष, टिक, मसला, कदम, चिउरी, हात्तीफल, बयर, सेमिलता, कुशुम, कदम, गोल्मोहर, कल्की, लिची, आँप, कटहर लगायतका फलफूलका बिरुवा वितरण गरिरहेको छ ।