‘यो दमाईको छोराले संस्कृत पढेर हाम्रो कर्मकाण्ड गर्ने हो र भन्थे !’
काठमाडौ । दलित जब आफ्नो क्षमता देखाए सामान्यतया पण्डित,ज्योतिष वा कथावाचक ब्राह्मण समुदायकै पात्र हुन्छन् भन्ने सामाजिक मान्यता रहँदै आएको छ । तर,पशुपतिमा जारी कोटीहोममा यतिबेला पहिलोपल्ट दलित समुदायका कथावाचकले प्रवचन दिएका छन् ।
आचार्य कृष्ण दमाइले आजबाट कथावाचन शुरु गरेका हुन् । बैतडी घर भएका दमाईको यतिबेला चौतर्फी प्रशंसा भइरहेको छ । उनले कञ्चनपुरस्थित शारदा विद्यापीठबाट संस्कृतमा शास्त्री (ब्याचलर) र दाङको लालझण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयबाट आचार्य (मास्टर्स) गरेका छन् । कोटीहोम आयोजकले हिजो दमाईलाई कार्यक्रममा फूलमालाले भव्य स्वागत गरेको थियो ।
उनले कथावाचनको प्रारम्भमा आफ्ना बुबाआमा र गुरुहरुलाई सम्झिए । त्यस्तै,संस्कृत पढ्दा अरुले गरेका टिप्पणी स्मरण गर्दै भने, ‘यो दमाईको छोराले संस्कृत पढेर हाम्रो कर्मकाण्ड गर्ने हो र भन्थे !’
आफ्नो ज्ञान र विद्धताको लागि संस्कृत अध्ययन गरेको उनको भनाई छ । ‘मैले कर्मकाण्डका लागि होइन,आफ्नो विद्वताका लागि, आफ्नो सनातनका लागि, जन्मभूमिका लागि यो विषय अध्ययन गरेको हुँ’, उनले थपे ।