पार्टी एकताका लागि नेपाल र चन्दलाई फकाउँदै दाहाल
काठमाडौँ । कांग्रेस–एमाले गठबन्धन बनेपछि छटपटिएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले हरेक बैठक र सभामा ‘वामपन्थी एकता र सहकार्य’ मा जोड दिइरहेका छन् ।

बिहीबार सकिएको स्थायी समिति बैठकमा पनि उनले वामपन्थी एकता र समाजवादी शक्तिसँग सहकार्यमै जोड दिए । स्थायी समिति चलिरहेका बेला उनले यही साता एकीकृत समाजवादी (एस) अध्यक्ष माधवकुमार नेपालसँग दुईपल्ट र नेकपाका महासचिव नेत्रविक्रम चन्दसँग एकपल्ट भेटेर पार्टी एकताको प्रस्ताव गरे ।
दाहालले दुवै नेतालाई सदन र सडकमा बलियो पार्टी बनाउने भन्दै एकताको प्रस्ताव गरेको निकट स्रोतको भनाइ छ । तर दुवै नेताले आ–आफ्नो पार्टीभित्र वामपन्थी एकताका लागि निर्णय गर्न बाँकी रहेको जवाफ दिएका छन् । ‘हतारमा पार्टी एकता गरेर फुर्सदमा पछुताउनुभन्दा अहिले नै बलियो आधार तयार गर्नु उपयुक्त हुने नेपाल र चन्दको भनाइ थियो’ दाहालनिकट एक नेताले भने, ‘सैद्धान्तिक रूपमा वापमन्थी एकताका लागि शीर्ष नेताहरू सहमत छन्, वैचारिक र प्राविधिक विषय मिलाउन बाँकी छ ।’
२०७४ को निर्वाचनपछि राजनीतिक र वैचारिक बहसबिना हतारमा एमाले र माओवादीबीच पार्टी एकता गर्दा विभाजन भोग्नुपरेको भन्दै पार्टीभित्र र पार्टी–पार्टीबीच राजनीतिक कार्यदिशमा सहमति भएपछि मात्र मिल्नु उचित हुने नेपालले दाहाललाई सुझाएका छन् । दाहाल भने सकेसम्म छिटो एस र नेकपासँग एकता गर्ने पक्षमा छन् । संसद्मा अहिलेभन्दा बलियो प्रतिपक्ष मोर्चा निर्माण गरी कांग्रेस–एमाले सरकारलाई दबाब दिने नीति दाहालको छ ।
प्रतिपक्षमा पुगेपछि दाहालको दाउ प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ८ सिट भएको एसलाई माओवादीमा समेट्नेतिर छ । माओवादीको ३२ मा एसको १० थप्दा ४२ सिटको ‘बलियो पार्टी’ बन्ने र त्यसपछि कांग्रेस–एमालेलाई संसद् र सडकबाट दबाब दिन थप बल पुग्ने दाहालको बुझाइ छ ।
दाहालले एसका अध्यक्ष नेपाललाई यही साता उनको घर कोटेश्वरमा र आफ्नो निवास खुमलटारमा भेटवार्ता गरी पार्टी एकताको प्रस्ताव गरेका थिए । एमालेबाट विभाजन भएपछि असार तेस्रो साता मात्र महाधिवेशन सकेकाले तत्काल पार्टी एकता नगर्ने तर समाजवादी मोर्चामार्फत सहकार्य गर्नु उपयुक्त हुने नेपालले दाहाललाई बताएका थिए ।
एस अध्यक्ष नेपालले हालका लागि समाजवादी मोर्चामार्फत सहकार्य गर्नेबारे छलफल भएको बताए । ‘तुरुन्तै पार्टी एकता गर्ने भन्ने छैन,’ उनले कान्तिपुरसँग भने, ‘अहिले समाजवादी मोर्चामार्फत नै सहकार्य गर्ने हो ।’ उनले भदौ ९, १० र ११ मा बस्ने केन्द्रीय कमिटी बैठकमा वामपन्थी एकतालगायत धेरै विषयमा छलफल हुने बताए ।
एसका सम्मानित नेता झलनाथ खनालले पहिलो प्राथमिकता आफ्नो दल बलियो बनाउने भएको उल्लेख गर्दै माओवादी अध्यक्ष सरकारबाट बाहिरिएपछि एकताका लागि तातेको देखिए पनि तत्काल त्यो सम्भव नहुने बताए । ‘प्रचण्डजी सरकारबाट बाहिरिएपछि तात्नु भएको छ,’ खनालले भने, ‘तर अहिले चर्चामा आएजस्तो माओवादीसँग एकताको सुरसार छैन, पहिले एकीकृत समाजवादीलाई नै बलियो बनाउने बाटोमा लागेका छौं ।’
उनले वामपन्थीबीच एकताभन्दा पहिले आ–आफ्नो पार्टी नै बलियो बनाउनुपर्ने बताए । ‘पहिले आफ्नो पार्टी बलियो बनाउने, अनि कार्यगत एकता गर्नुपर्छ’ खनालले भने, ‘त्यसपछि मात्र विचार मिल्यो भने पार्टी एकता गर्ने हो ।’ उनले २०७४ पछि एमाले र माओवादीबीच एकता र विभाजनको उदाहरण दिँदै संसद्को अंकगणित हेरेर मात्र पार्टी एकता गर्नु घातक हुने बताए । ‘राजनीतिक विचारमा एक नभई संसद्को अंकगणित हेरेर मात्र हुने एकताले फाइदा गर्दैन’ उनले भने ।
पार्टीभित्र बलियो एकता नगरी बाहिर रहेका पार्टीबीच एकता गर्नु उचित नहुने मत माओवादीभित्र पनि छ । सरकारबाट बाहिएपछि पार्टी बनाउनु प्रमुख दायित्व भएको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए । दाहाल हतारमा वामपन्थी एकता गर्ने प्रारम्भिक छलफलमा भए पनि यसबारे सामान्य कुराकानी मात्र भएको उनको भनाइ छ ।
‘वामपन्थी दलबीच एकताका लागि सामान्य छलफल भइरहेको छ, ठोस रूपमा अघि बढेको छैन’ उनले भने, ‘अहिलेको प्रमुख एजेन्डा पार्टी निर्माण हो, जनतासँग सम्बन्ध बलियो बनाउने हो, रूपान्तरणसहित पार्टी पुनर्गठन गर्ने हो ।’ उनले राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुखतिर लैजाने वैचारिक स्पष्टता हासिल गरेपछि मात्र पार्टी एकता हुन सक्ने बताए । ‘हाल वामपन्थी सहकार्य गर्नु उचित हुन्छ,’ श्रेष्ठले भने ।
माओवादी महासचिव देव गुरुङले पार्टी एकता लागि कुरा चले पनि त्यसले ठोस आकार नलिएको बताए । ‘कुरा चलिरहेको छ, ठोस टुंगो भएको छैन’ उनले भने, ‘कम्युनिस्ट एकताबद्ध बन्नुपर्छ भन्ने उहिलेदेखिकै कुरा हो, तर अहिले तुरुन्तै टुंगोमा पुग्ने देखिँदैन ।’
माओवादी अध्यक्ष दाहाल र नेकपा महासचिव चन्दबीच खुमलटारमा बुधबार पार्टी एकताबारे छलफल भएको थियो । गत चैतको केन्द्रीय समिति बैठकमा नेकपाले कम्युनिस्ट दलबीच एकताको प्रयास गर्ने निर्णय गरेको थियो । त्यही निर्णयअनुसार उसले पहिलो चरणमा माओवादीसँग एकताका लागि छलफल गरेको हो ।
नेताहरूका अनुसार नेकपासँग एकताका लागि छलफल गर्न माओवादीले उपाध्यक्ष कृष्णबहादुर महरालाई जिम्मा दिएको छ ।
नेकपा सचिवालय सदस्य असल क्षेत्रीले पूर्वमाओवादीबीच एकता गर्ने पार्टीको पहिलो प्राथमिकता रहेको बताए । त्यहीअनुसार माओवादीसँग उच्च तहमा छलफल भए पनि ठोस आकार लिन केही समय लाग्ने उनले बताए । ‘पहिले माओवादीभित्र पनि हामी (नेकपा) सँग एकताका लागि सर्वसम्मत निर्णय हुन आवश्यक छ’ उनले भने, ‘त्यसपछि वैचारिक राजनीतिक नीतिमा सहमति भएपछि एकता हुन सक्छ ।’
सशस्त्र युद्धमा समकालीन नेताहरू माओवादी उपमहासचिवद्वय वर्षमान पुन, जनार्दन शर्मा र नेकपा महासचिव चन्दबीच समझदारी बनेपछि पार्टी एकता हुने अर्का नेताको भनाइ छ । दाहाल प्रधानमन्त्री भएकै बेला एक वर्षअघि २०८० असारमा गठन भएको समाजवादी मोर्चामा संसद्मा नभएको नेकपा सहभागी भएको थियो । हाल समाजवादी मोर्चाका संयोजक नेकपा महासचिव नेत्रविक्रम चन्द छन् । यो मोर्चामा माओवादी, एस र महेन्द्र यादवले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी र नेकपा छन् । पार्टी विभाजन भएपछि उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (नेपाल) मोर्चाबाट अलग भइसकेको छ ।
माओवादी महासचिव गुरुङ, नेकपा नेता खड्कबहादुर विश्वकर्मा, एसका नेता प्रमेश हमाल र नेता गंगानारायण श्रेष्ठ रहेको मोर्चाको कार्यदलले ‘मोर्चामा अरू समान धारणा भएको दल थपेर विस्तार गरी विचार मिल्ने दलबीच एकता गर्ने’ प्रस्ताव तयार गरेको छ । यो प्रस्ताव मोर्चाका शीर्ष नेताले आगामी साता अन्तिम टुंगो लगाउने तयारी गरेका छन् । ‘अहिले समान धारणा भएका दलहरूबीच मोर्चा विस्तार गर्ने र आगामी दिनमा विचार मिल्ने दलबीच एकता गर्ने नीति छ’ कार्यदलका सदस्य श्रेष्ठले भने ।
माओवादीको चुनाव चिह्नमा सर्लाही २ बाट उम्मेदवार भई जितेका महिन्द्र राय यादवको दल नेसपा माओवादीसँग एकता गर्न तयार छ । माओवादी संसदीय दलको सांसदकै हैसियतमा यादव छन् । नेसपा नेता वाग्मती प्रदेशमा सिन्धुली २ (२) बाट गंगानारायण श्रेष्ठ र गोरखा २ (२) बाट फणीन्द्र देवकोटा निर्वाचित भएका थिए । देवकोटा सर्वोच्चको आदेशले बाबुराम भट्टराईले नेतृत्व गरेको नेसपामै छन् ।कान्तिपुर दैनिकमा खबर छ ।