‘देवी’ ट्रेलर : बलात्कारको घटनामा कानुनले पार्ने प्रभावको कथा
तीज विदाको अवसर पारेर यही भदौ २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘देवी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक करिब ३ मिनेट लम्बाईको ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिन्छ । बलात्कारजस्तो जघन्य अपराधको घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामलाई ट्रेलरमा देखाउन खोजिएको छ ।
अभिनेत्री शिल्पा मास्के पत्रकारको भूमिकामा छिन् । उनलाई बलात्कारको घटनामा अनुसन्धान गरेर रिपोर्ट बनाउनुपर्ने जिम्मेवारी मिल्छ । तर, प्रहरीले छानविन गरिरहेको व्यक्तिको बारेमा उनले रिपोर्टिङ गरेपछि त्यो व्यक्तिको श्रृंखलाबद्ध रुपमा हत्या हुन्छ । पछि उनी आफैंमाथि आक्रमण भएको देखाइएको छ । फिल्मले मूलतः शिल्पाको पात्रमार्फत् कथा भनेको ट्रेलरबाट बुझ्न सकिन्छ ।
सञ्जोग राईको निर्देशनमा बनेको फिल्ममा गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, ध्रुब कोइराला, विशाल पहारी, निरिक्षा घतानी, प्रभाकर न्यौपाने, निरु खड्का, जीवनजंग खड्का लगायतको पनि अभिनय छ । गौरव प्रहरीको भूमिकामा छन् । जोएल फ्रोमको छायांकन रहेको फिल्मको पटकथा लेखनमा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । फिल्ममा सन्जेन थापाको द्वन्द्व छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक राईले आफू व्यावसायिक फोटोग्राफर भए पनि बच्चादेखिको सपना पूरा गर्न फिल्म निर्देशन गरेको बताए । आफूले सामाजिक न्यायका लागि यस्तो कथामा फिल्म बनाएको पनि उनको भनाई थियो । फिल्मकी निर्मात्री समेत रहेकी अभिनेत्री मास्केले नेपाली समाजलाई सचेत बनाउने र सन्देश प्रवाह गर्ने फिल्मको हिस्सा बन्न पाएकोमा खुशी व्यक्त गरिन् ।
एक्जिबिट स्टुडियोले ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्मससँग सहकार्य गरेको फिल्ममा रेमन गुरुङ, नारायण राई र सञ्जोग राई निर्मातामा छन् भने जावेद खान कार्यकारी निर्माता हुन् । त्यस्तै, सह-निर्मातामा शिल्पा मास्के, उजेन नोर्वे गुरुङ र मिलन लामा छन् । बाँसुरी फिल्म्सका अध्यक्ष तथा निर्देशक रामबाबु गुरुङले ‘देवी’ जस्तो फिल्ममा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।