देशभर अविरल वर्षाका कारण जनजीवन प्रभावित
काठमाडौं । बुधबार बिहानको रातिदेखि परेको अविरल वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर अधिकांश ठाउँमा वर्षा भइरहेको छ।
बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशसँगै बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेकोले काठमाडौं उपत्यकामा रातिदेखि परेको पानीले जनजीवन प्रभावित भएको छ।
महाशाखाका अनुसार बुधबार रातिसम्म देशभर आंशिकदेखि साधारणतया बदली रहने भएकोले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा दिनभर हुने पूर्वानुमान गरिएको छ।
लगातारको वर्षाले कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली नदीमा पानीको सतह खतरा तह नजिक पुगेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार साना तथा ठुला नदीमा पानीको बहाव बढेको हो। काठमाडौं उपत्यकामा लगातार वर्षा भइरहेकाले बागमती, विष्णुमती, धोविखोला, गोदावरी र हनुमन्तेमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, कास्की, पर्वत, बाग्लुङ, ब्याग्दी, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरका साना तथा ठुला नदीमा पानीको वहाव बढेको छ।
खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तराष्ट्रिय दुवै क्षेत्रका केही उडान प्रभावित भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार निरन्तरको वर्षाले केही उडान प्रभावित भएका हुन्। बुधबार बिहान अन्तराष्ट्रियतर्फ एयर चाइनाको विमान ‘डाइभर्ट’ भएको थियो।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ रहेकाले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ।
लगातारको वर्षा र पहिरोले केही राजमार्गसमेत अवरुद्ध भएका छन्। पहिरो खस्दा नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध छ। धादिङ जिल्लाको नागढुङ्गाबाट झण्डै दुईसय मिटर नौबिसेतर्फ पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
अविरल वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। स्याङ्जा सडक खण्डअन्तर्गत वालिङ नगरपालिका–८ मा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो। बाढीका कारण कैलालीमा हुलाकी राजमार्ग अवरुद्ध भएको छ । कैलारी गाउँपालिका -५ स्थित पुरानो मनिकापुर सडक खण्डमा राजमार्ग अवरुद्ध भएको हो ।