अस्पतालको बेडबाट फरार भएका झापाका एक थुनुवा चार दिनपछि समातिए
झापा । अस्पतालको बेडबाट हतकडी फुस्काई फरार भएका थुनुवालाई चार दिनपछि प्रहरीले समातेको छ । लागूऔषध मुद्दाका फरार थुनुवा दमक नगरपालिका-३ भुटानी शरणार्थी सेक्टर जी थ्री भई हाल बिर्तामोड- १ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल राईलाई शनिबार बिहान ११ बजेतिर अर्जुनधारा- ११ स्थित नयाँ बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
नयाँ बसपार्कस्थित घिसिङ मोटरसाइकल ग्यारेज छेउको चिया पसलको भित्रपट्टी चुरोट खाई बसिरहेको अवस्थामा उनलाई प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले पक्राउ गरेको हो । भदौ ४ गते दिउँसो ४ बजे पेट दुख्ने बिरामी भई राईलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा भर्ना गरिएको थियो ।
मध्यरातमा उनी त्यहाँबाट हतकडी फुस्काई फरार भएका थिए । राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए । थुनुवा फरार भए लगतै प्रहरी हवल्दार राईलाई निलम्बन गरी कारबाही सुरु गरिएको थियो । उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको टोली चार दिनदेखि खटिएका थिए ।
गत भदौ २ गते राति अन्दाजी साढे ९ बजे बिर्तामोड–१ पश्चिम बस स्ट्यान्डमा शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले राईलाई चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित १ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो। त्यसपछि उनलाई झापा जिल्ला अदालत भद्रपुरबाट ५ दिनको म्याद थप गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखिएको थियो।