दीपकले विराज र जितुलाई भनेका हुन् साइबर सेनाको सेनापति ?
यही भदौ ४ गते हास्य अभिनेता दीपकराज गिरीले आफ्नो फेसबुक एकाउन्टमा निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलासँगको एक तस्वीर सेअर गर्दै लेखेका थिए, ‘हाम्रो ध्यान कहाँ छ ? असोज २४ तिर मात्रै ।’ उनले असोज २४ भनेर आफ्नो समूहको नयाँ फिल्म ‘छक्का पञ्जा ५’को रिलिजबारे जानकारी गराएका हुन् । अरु बेलामा जस्तो उनको यो स्टाटसले कसैप्रति पनि कटाक्ष गरेको छैन ।
तर, दीपकको स्टाटसमा कमेन्ट भने ‘छक्का पञ्जा ५’सँग भिड्न लागेको अर्को फिल्म ‘१२ गाउँ’लाई लिएर बढी छ । धेरैले यसपटक ‘१२ गाउँ’ हेर्ने भन्दै कमेन्ट गरेका छन् । एकाध कमेन्ट असोज २४ मै आउन लागेको अर्को फिल्म ‘ज्वाइँ साब’लाई लिएर पनि छ । यसरी आफ्नो स्टाटसमा आफ्ना प्रतिस्पर्धी फिल्मको नाममा कमेन्ट वर्षेपछि दीपकले यसलाई ‘साइबर सेना’को संज्ञा दिएका छन् ।
शनिबार उनले स्टाटस लेख्दै भनेका छन्, ‘राजनीतिमा साइबर सेना त सुनेकै हो अब चलचित्र क्षेत्रमा पनि आएछ । तर, ती सेनाका सेनापतिले आफ्ना सेनालाई अरूलाई गाली गर्नुभन्दा आफ्नै प्रचार मात्रै गर्न लगाए हुने ।’ उनको यो कटाक्ष ‘१२ गाउँ’का निर्देशक तथा अभिनेता विराज भट्ट र आफ्नै समूहबाट छुटिएर ‘ज्वाइँ साब’ भिडाउन लागेका अभिनेता जितु नेपालप्रति रहेको प्रष्ट बुझिन्छ ।
विराजले ‘छक्का पञ्जा ५’को गीत रिलिजको भोलिपल्ट असोज २४ गतेलाई ‘१२ गाउँ’को प्रदर्शन मिति घोषणा गरेका थिए । र, त्यही दिन जितु अभिनीत ‘ज्वाइँ साब’को पनि प्रदर्शन मिति घोषणा गरिएको थियो । जितुसँग दीपकराज समूहको पानी बाराबार नै छ । कुनै समय एउटै डुङ्गामा यात्रा गर्ने उनीहरु अब बक्स अफिसमै आमने-सामने हुँदैछन् । यो उनीहरुका लागि प्रतिष्ठाको लडाइँ हो ।
तर, दीपकराज समूहलाई ‘ज्वाइँ साब’भन्दा पनि ‘१२ गाउँ’ टाउको दुखाई बन्न सक्ने देखिँदैछ । किनभने, ‘छक्का पञ्जा ५’को गीत र दीपकराजले लेख्ने हरेक स्टाटसको कमेन्टमा ‘१२ गाउँ’को नाम बढी नै आइरहेको छ । त्यसो त दीपकराज समूहका लागि यो नौलो होइन । पहिला पनि उनीहरुले यो अवस्था झेलिसकेका छन् । तर, त्यसले यो समूहको बक्स अफिस नतिजामा असर पारेको छैन ।
तथापि यतिबेला ‘छक्का पञ्जा ५’का गतिविधिमा ‘१२ गाउँ’को नाम अत्याधिक रुपमा आइरहनुलाई सामान्य आँक्न मिल्दैन । यदि यो स्वत:स्फूर्त रुपमा भइरहेको हो भने ‘छक्का पञ्जा ५’का लागि ठूलै चुनौती हुनसक्छ । तर, कमेन्टमा देखिने क्रेज हलमा विरलै मात्र देख्न पाइन्छ । यसैले ‘छक्का पञ्जा ५’माथि खनिएर ‘१२ गाउँ’को प्रचार गरिरहेको भीड अब हलमा कति उत्रिन्छ, त्यो महत्त्वपूर्ण हो ।
यद्यपि पछिल्लो समय फिल्म क्षेत्रमा ‘साइबर सेना’ लगाउने प्रवृत्ति भने मौलाएको छ । एउटै मितिमा ठूला फिल्महरु भिड्दैछन् भने सामाजिक सञ्जालमा जताततै फिल्मको राम्रो मात्र प्रचार गर्न र अर्को फिल्मको कमजोरी निकालेर मजाक उडाउन साइबर सेनाको प्रयोग गरिन्छ । र, यसका लागि निर्माताले नाम चलेका कलाकारलाई तिर्ने पारिश्रमिकभन्दा बढी खर्च गर्ने गरेको व्यापक चर्चा छ ।