मनमोहनमा पाठेघरको शल्यक्रियापछि बृद्धाको मृत्यु
झापा । झापा बिर्तामोडको मनमोहन हस्पिटलमा पाठेघरको शल्यक्रियापछि एक बृद्धाको मृत्यु भएको छ ।
मेचीनगर ३ की ६४ वर्षीया सुकमाया लिम्बूको मृत्यु भएको हो । पाठेघरमा समस्या भएर सुकमायालाई हिजो साँझ ५ बजे मनमोहन हस्पिटलमा भर्ना गरिएको थियो । उनको राति २ बजे शल्यक्रिया गरिएकोमा आज दिउँसो १ बजे मृत्यु भएको हो ।
विरामीको मृत्युपछि मृतकका आफन्तहरुले अस्पतालमा विवाद गरेका थिए । मृतकका आफन्त र प्रशासन पक्षबीच छलफल भएर विवाद मिलाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । विरामीको मृत्यु भएपछि उपचार खर्च अस्पतालले नलिनेलगायतका सहमति भएको जनाइएको छ ।
हिजो मात्र बिर्तामोड–२ भगवान चौकस्थित स्पाइन एक्स सुपर स्पेसलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले आन्दोलन गरेका थिए ।