खेलाडीसँग प्रधानमन्त्री ओलीको आग्रह : ‘एशियन गेमलाई टार्गेट बनाएर तयारी थाल्नुस्’
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानको एशियन गेमलाई लक्षित गरी तयारी गर्न खेलाडीहरुलाई आग्रह गर्नुभएको छ। बुधबार राष्ट्रिय खेलकुद परिषद्को ६१ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
उहाँले ओलम्पिक, साउथ एशियन गेमलाई लक्षित गरी तयारी गर्न आग्रह गर्नुभयो । उहाँले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले नेपालसँग खेलकुदका लागि पर्याप्त श्रोत साधन नभएपनि निरन्तरको अभ्यास र मेहनतले एकदिन अवश्य सफलता हाँसिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सक्दो बजेट खेलकुदका निम्ति छुट्याउने कोशिस गरेको पनि उल्लेख गर्नुभयो । उहाँले आफू यसअघि प्रधानमन्त्री हुँदा भूकम्पबाट दशरथ रंगशालासहित विभिन्न रंगशालाहरु भत्किएको र तत्काल निर्माण गरी १३ औं साग सञ्चालन गरेको स्मरण गर्नुभयो।
प्रधानमन्त्री ओलीले पछिल्ला समयमा खेल क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा उपलब्धि हासिल गर्न थालेको र पलेसा गोवद्र्धनले पारा ओलम्पिकमा कास्य पदक जित्नु एक कोशेढुङ्गा सावित भएको बताउनुभयो । कुनैपनि खेलमा प्रतियोगिताको अन्तिम समयसम्म जितिन्छ भन्ने दह्रो आत्मबल बनाएर आँटका साथ खेले जित हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले खेल क्षेत्रका संस्थाहरु लोकतान्त्रिकरुपमा चलाइनुपर्नेमा जोड दिँदै विधागत विकास र उन्नतिको साटो आफ्नो स्वार्थका लागि कब्जा जमाइ राख्ने प्रवृत्ति उचित नहुने बताउनु भयो । कार्यक्रममा प्रधानमन्त्री ओलीबाट विभिन्न खेलमा यो वर्ष उत्कृष्ठता हासिल गर्ने खेलाडीहरुलाई सम्मान वितरण गरिएको थियो ।