दुर्गा प्रसाईँका समर्थक मैनाली र राई झापामा पक्राउ
झापा । बीएण्डसी हस्पिटलका सञ्चालक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेपछि उपद्रो गर्न सक्ने भन्दै दुई जनालाई झापा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राई रहेका छन् । आइतबार साँझ ५ः५ बजे बिर्तामोड –३, बिर्ताबजारस्थित निजी निवासबाट मैनालीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको डीएसपी प्रकाश विष्टले बताए ।
त्यस्तै साँझ ५ बजे कमल –४, सितापुरीस्थित निजी निवासबाट दुरेन राईलाई इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक निशान थापाको कमान्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय दमकमा प्रहरी निगरानीमा राखिएको छ । प्रसाईँ पक्राउपछि झापामा अराजक गतिविधि हुनसक्ने भन्दै सुरक्षाकर्मीहरूलाई सतर्क राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सुरक्षा निकायलाई स्टेन्डबाई राखिएको जिल्ला प्रहरी कार्यालयकी निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिइन् ।
उता काठमाडौँ जिल्ला अदालतमा दुर्गा प्रसाईँका समर्थकहरूले जिल्ला अदालतको गेट अगाडि नाराबाजी गर्न खोज्दा नागरिक बचाउ महाअभियानका उपत्यका इन्चार्ज बिष्णुजंग बस्नेतलगायत ४ जनालाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ आज दिउँसो पक्राउ परेका हुन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । प्रसाईँलाई उनको घरैबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रमुख डीआईजी नवीन्द अर्यालले जानकारी दिए । उनका अनुसार प्रसाईँविरुद्ध ब्युरोमा एक महिलाले साइबर अपराधसम्बन्धी उजुरी दिएकी छन् । प्रसाईँविरुद्ध काठमाडौँ जिल्ला अदालतले गत बुधवार विद्युतीय कारोबार ऐनको व्यवस्थाबमोजिम पक्राउ पुर्जी जारी गरेको थियो ।
उनका अनुसार प्रसाईँलाई म्याद थपका लागि काठमाडौँ अदालतमा उपस्थित गराइएको छ । अदालतले प्रसाईँसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो ।