दुर्गा प्रसाईका समर्थक मैनाली र राई रिहा, चौधरी पक्राउ
झापा । हिजो साँझ पक्राउ परेका बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईका दुईजना समर्थक आज रिहा भएका छन् ।
हिजो साँझ राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राई पक्राउ परेका थिए । उनीहरुलाई आज साँझ बिना धरौटी रिहा गरिएको प्रहरीले जनाएको छ ।
यसैबीच आज दिउँसो ४.३० बजे बिर्तामोड ७, गरामनीस्थित निजी निवासबाट नागरिक प्रतिरक्षा बल (पीडीएफ) का झापा जिल्ला सहसचिब बिजय चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरी उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको निगरानीमा राखिएको छ ।
यसैबीच दुर्गा प्रसाई पक्राउको विरोध गर्दै उनका समर्थकहरुले आज साँझ कन्काईको सुरुङ्गामा मसाल जुलुस निकालेका छन् । साँझ ६.३५बजेदेखि सुरुङ्गास्थित पिपल चोकबाट राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका कन्काई नगर संयोजक सन्तोष प्रसाईंको नेतृत्वमा करिब ३० जनाको उपस्थितिमा विभिन्न नाराहरु लगाउँदै मसाल जुलुस निकालिएको थियो । जुलुसले सुरुङ्गा बजार परिक्रमा गरी मुख्य चोकमा आई कोणसभामा परिणत भएको थियो ।