झापाको बाह्रदशीमा एक युवकको हत्या आशङ्का, देवर र भाउजूले शव घरभित्र गाडेको आशङ्का
बिर्तामोड । चार महिना अघिदेखि बेपत्ता भएका झापा बाह्रदशी-५ का एक युवकलाई हत्या गरेर घरभित्र गाडेको आशंकामा प्रहरीले उत्खनन् शुरु गरेको छ ।
बाह्रदशी- ५ फूलवारीका अन्दाजी २१ वर्षका राजेश ठाकुर गत जेठ १५ गतेदेखि बेपत्ता भएका थिए । छिमेकी नरेश राजवंशी र उनकी भाउजुले हत्या गरेर आफ्नो घर आँगनमा गाडेको आशंकामा प्रहरीले आज साँझदेखि उत्खनन् गरेको हो । तर, अहिलेसम्म ठाकुरको शव फेला परिसकेको छैन । हत्या गरेर गाडेको स्वीकार गरिसकेका नरेश राजवंशीले देखाएको ठाउँमा खन्दा शव नभेटिएको फूलवारी प्रहरी चौकीका असई श्रवण चौधरीले बताए । उनले घरभित्र र घर बहिर पनि खन्ने काम भइरहेको जानकारी दिए ।
प्रहरीले नरेश राजवंशी र उनकी भाउजुलाई नियन्त्रणमा लिएको छ । नरेशका दाजु गणेश राजवंशी दुबईमा रहेका छन् । देवर र भाउजुले मिलेर ठाकुरको हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । हराएका ठाकुरले लगाएको कपडा, नुनको बोरा र हतियार भेटिएको जनाइएको छ । घटनास्थललाई सिल गरी थप अनुसन्धान भोलि विहानबाट गरिने प्रहरीले जानकारी दिएको छ।