प्रधानमन्त्रीमाथि कांग्रेसको दबाब : बिआरआईमा ऋण अस्वीकार गर्ने अडान कायमै
काठमाडाैं । सत्तारूढ दल कांग्रेसले बिआरआई कार्यान्वयन योजनालाई ऋणका रूपमा स्वीकार गर्न नसकिने पुरानै अडान दोहो¥याएको छ । आसन्न चीन भ्रमणमा यस्तो योजनामा हस्ताक्षर गर्ने प्रधानमन्त्री केपी ओलीको प्रयास रहेकै वेला कांग्रेसले आफ्नो अडान दोहो¥याएको हो । बिआरआईमा समान धारणा बनाउन कांग्रेस र एमालेबिच छलफल जारी रहेकै वेला कांग्रेसले विज्ञहरूसँग छलफल गरेर पार्टी धारणा सार्वजनिक गरेको हो । कांग्रेस संसदीय दलले शुक्रबार आयोजना गरेको ‘नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपाय’ विषयक अन्तरक्रियामा कांग्रेसले आफ्नो धारणा राखेको हो । परराष्ट्र मामिलाका जानकार तथा अर्थविद्हरूसँगको छलफलपछि प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ऋण लिन नसकिने निष्कर्षमा कायम रहेको बताए ।अहिलेको अवस्थामा कुनै पनि देशबाट ऋण लिएर मुलुकलाई आर्थिक भार थप्न नहुने पक्षमा कांग्रेस अडिग रहेको डा. महतले बताए । ‘हामीले बिआरआई हुँदैन भनेका छैनौँ । ऋण लिनुहुँदैन मात्र भनेका हौँ । बिआरआईअन्तर्गत नै अनुदान कार्यान्वयन गर्नुपर्छ, यो अवस्थामा ऋणचाहिँ लिनुहुँदैन,’ उनले भने, ‘अनुदानबारे प्रतिबद्धता कार्यान्वयन भएको छैन । अनुदान नै कार्यान्वयन भएको छैन भने ऋणको के अर्थ ?’
प्रमुख सचेतक श्यामकुमार घिमिरेले अन्तरक्रियामा आएका सुझाव अब बस्ने संसदीय दलको बैठकबाट पारित गर्ने र कार्यान्वयनका लागि सरकारलाई सुझाव दिइने बताए । सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, कृष्ण सिटौला, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा, ऊर्जा मन्त्री दीपक खड्कालगायत सहभागी थिए । प्रमुख सचेतक घिमिरेका अनुसार यसक्रममा पूर्वअर्थमन्त्रीहरू, पूर्वअर्थराज्यमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर, निजी क्षेत्रका उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, निर्माण व्यवसायी महासंघ र अर्थविज्ञहरूसँग छलफल गरिएको थियो । नयाँ पत्रिकामा खबर छ ।