मोटरसाइकलको ठक्करबाट झिलझिले माविका तीन विद्यार्थी घाइते
झापा । तीब्र गतिमा आइरहेको मोटरसाइकलको ठक्करबाट शिवसताक्षी नगरपालिकाको झिलझिले माध्यमिक विद्यालयमा अध्ययनरत तीनजना विद्यार्थी घाइते भएका छन् ।
आज बिहान अन्दाजी ११बजे शिवसताक्षी –८ स्थित भित्री सडकखण्डमा शितल चोकबाट ढुङ्गेल चोकतर्फ आउँदै गरेको प्र. १–०१–०१७ प २४०८ नम्बरको मोटरसाइकलले आफै अनियन्त्रित भई विद्यार्थीहरुलाई ठक्कर दिएको थियो । घाइते हुनेहरुमा शिवसताक्षी ८ बस्ने सुमित्रा राईका छोरा अन्दाजी १२ वर्षका जलन राई (बाहिरी चोट नदेखिएको ,छातीमा समस्या भएको, बोल्न सक्ने ,अवस्था मध्यम) सोही ठाउँ बस्ने महेश राईका छोरा अन्दाजी ४ वर्षका योगेश राई (निधारमा चोट, बोल्न सक्ने ,अवस्था सामान्य ) र सोही ठाउँका राजकुमार राईका छोरा अन्दाजी ११ वर्षका रिजन राई (दाहिने हातमा चोट ,अवस्था सामान्य) रहेका छन् । घाइते तीनै जना विद्यार्थीहरुलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको छ ।
आज बिहान विद्यालय आउने क्रममा झिलझिले माविमा कक्षा ६ मा अध्ययनरत जलन राई, कक्षा ४ मा अध्ययनरत रिजन राई र बाल विकासका योगेश राई मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका हुन् ।
मोटरसाइकल चालक शिवसताक्षी ८ बस्ने २४ वर्षीय अनिश प्रसाई उपचारमा संलग्न रहेको र मोटरसाइकल इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।