आजदेखि एनपिएल, व्यावसायिकताको कसीमा नेपाली खेलाडी
-धर्मेन्द्र झा
नेपालमा पहिलो पटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल सुरु हुन केही घण्टा मात्र बाँकी छ । विश्वव्यापी रुपमा चर्चा बटुलेको एनपिएलको आयोजना हुँदै गर्दा निश्चय पनि नेपाली क्रिकेटका पहिलो र दोस्रो पुस्ताका खेलाडी र क्रिकेट व्यवस्थापकहरुले खुसी मान्दै सन्तोषको श्वास लिएको हुनुपर्छ । नेपाली क्रिकेटका सम्बन्धमा उनीहरुले देखेको सपना एनपिएल मार्फत पूरा हुने देखिएको छ । यसको महत्व खेलमा मात्र सीमित छैन बरु नेपाली पर्यटन, नेपाली समाज र समग्रमा नेपाली अर्थतन्त्रका बारेमा विश्वले नया ढङ्गले सोच्न बाध्यात्मक अवस्थाको समेत निर्माण गरेको छ । यस सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गर्नुभएको उद्गार महत्त्वपूर्ण छन् ।
प्रधानमन्त्री ओलीले ट्रफी सार्वजनिक गर्दै एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्ने धारणा राख्नुभएको थियो । एनपिएलबाट लुकेर बसेका युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभएको थियो । एनपिएल क्रिकेटको मात्र नभएर नेपाली खेलकुदको कोशेढुङ्गा बन्ने उहाँको बुझाइ छ । यसले नेपाली खेलाडीका लागी व्यावसायिक ढोका समेत खोलेको छ ।
सरकारले एनपिएललाई सक्दो सहयोग र प्रोत्साहन गर्ने घोषणा गरेको छ । यसबाट के बुझिन्छ भने राज्यले नेपाली खेलकुदलाई विगतमा जे जसरी लिएको थियो त्यसमा परिवर्तन आएको छ । अर्थात् अब नेपाली खेलकुदलाई सरकारको पूर्ण समर्थन र साथ रहने देखिन्छ । सरकार खेलाडीको साथमा छ । र उनीहरुसँगै होस्टेमा हैँसे गर्न चाहन्छ । सरकारको साथ पाउने कुराले क्रिकेट खेलाडी र यसका लगानीकर्ता हौसिएका छन् । एनपिएलमा साझेदार रहेका सरकारी तथा नीजि क्षेत्र उत्साहित छन् । एनपिएलमा नीजि क्षेत्रले गच्छेअनुसारको साथ दिएको छ । अगामी दिनमा पनि उनीहरु क्रिकेटलाई मात्र होइन् समग्र नेपाली खेलकुदको विकासमा मद्दत गर्न तयार छन् ।
क्रिकेट अबको पुस्ताको सपना र गौरवको विषय हो । एनपिएलका माध्यमबाट नेपाली क्रिकेटमा नयाँ आयाम थपिएको छ । एनपिएलले नेपाली खेलाडीका लागि व्यावसायिक ढोका खोलेको छ । हिजोसम्म खेलाडीले घरको लगानीमा खेल्दै आएका थिए । पारिश्रमिक पाउने त टाढाको कुरा उनीहरुलाई खेल सामग्रीको अभावले पनि सधैँ पिरोल्ने गरेको थियो । क्रिकेट खेल्न ब्याट अभाव हुँदा उनीहरु गाउँघरमा दाउराको ब्याट बनाएर खेल्ने गर्दथे । बल किन्ने पैसो नहुँदा मोजाको डल्लो बनाएर खेलेको इतिहास हाम्रै अघिल्तिर छ । क्रिकेटको पहिलो र दोस्रो पुस्ता यो अवस्थासँग परिचित छ । हिजोको अवस्थामा अहिले निकै परिवर्तन आएको छ । एनपिएलले नेपालको क्रिकेट खेलाडीका आर्थिक अवस्थामा सुधार ल्याउने पक्कापक्की छ । सुरुआतमै एनपिएलमा सहभागी खेलाडीले राम्रो पारिश्रमिक पाउनुले पनि यो कुराले पुष्टि गर्दछ । प्रत्येक टोलीका मार्की खेलाडीले एक पटकका लागि रु २० लाख पाउने भएका छन् । तीन वर्षका लागि उनीहरुले रु ६० लाख पाउने निश्चित भएको छ । एनपिएलले खेलाडीका लागि विदेशमा बढीभन्दा बढी पारिश्रमिकमा विदेशी लिग खेल्ने वातावरण बनाउने अवसर मिल्ने छ । एनपिएलको प्रदर्शनबाट नेपाली क्रिकेट खेलाडीलाई विदेशी लिग खेल्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
एनपिएल नेपालको क्रिकेटलाई विश्वमा चिनाउने माध्यम बनेको छ । यसले नाम मात्रका लागि होइन साँच्चिकै विश्वको ध्यान तान्ने छ । एनपिएलका कारण नेपालको खेल पर्यटनलाई मद्दत पुग्ने छ । सारा विश्वले नेपालको क्रिकेटबारे जान्ने बुझ्ने अवसर प्रदान प्राप्त गर्नेछन् । एनपिएलको सफल आयोजनाले नेपाली भूमि अरु देशका झैँ ठुल्ठुला लिग तथा प्रतियोगिता खेल्ने भूमि बन्ने छ । अरु देशले पनि नेपालमा प्रतियोगिता आयोजना गराउन सक्नेछन् ।
एनपिएलको ट्रफीमा सगरमाथा आधारशिविर कालापत्थरबाट ल्याइएको ढुंगा राखिएको छ । पर्वतारोही निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थरबाट उक्त ढुंगा ल्याउनुभएको हो । प्राकृतिक सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउन ट्रफीमा उक्त ढुंगा राखिएको आयोजकको भनाइ छ । निश्चितरुपमा ट्रफीका माध्यमबाट पनि यसको विश्वभर सकारात्मक सन्देश जाने छ । सारा विश्व जलवायु परिवर्तनको चपेटामा छ । यसबाट नेपाल झन् धेरै प्रभावित बनेको छ । सगरमाथा आधारशिविरको ढुंगा एनपिएलको ट्रफीमा राखिनुले अझ खास महत्त्व राख्ने छ । यसले खेलका माध्यमबाट जलवायु परिवर्तनबाट परेको असरबारे नेपाल कति चिन्तित र संवेदनशील छ भन्ने सन्देश दिन पुगको छ । यसले हिउँ पग्लिएर काला चट्टान हुँदै गरेको अवस्थालाई विश्वसामु उजागर गर्ने छ ।
एनपिएलले विदेशी खेलाडीसितको सम्बन्ध बढाएको छ । उनीहरुसित यहाँका खेलाडी राम्रोसँग घुलमिल गर्न पाउने छन् । एकसाथ खेल्दा विश्वमै चिनिएका ती खेलाडीको खेल नजिकबाट नियाल्ने र बुझ्ने मौका मिल्ने छ । यसपटक एनपिएलले सारा विश्वको ध्यान आकर्षित गरेको छ । एनपिएलमा विश्वभरबाट आएका ४० विदेशी खेलाडीको सहभागिता अझ विशेष बनेको छ । यसबाट नेपालको क्रिकेटबारे विश्वभर सकारात्मक सन्देश गएको छ । एनपिएलमा सहभागी आठवटै क्लबले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान)ले पहिलो संस्करणका लागि एउटा टोलीले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम बनाएको छ ।
एनपिएलले विश्वका अरु देशका ठूला ठूला लिग प्रतियोगिता खेल्ने अवसर सृजना गर्ने छ । एनपिएलमा गरेको प्रदर्शनकै कारण नेपाली खेलाडी विदेशका चल्तिका लिगमा स्थान बनाउन सक्ने अवस्था देखिएको छ । आइपिएलपछिको दोस्रो ठूलो लिगका रुपमा एनपिएललाई हेरिएको छ । त्यसैले विश्वको ध्यान यतातर्फ गएको छ ।
सरकारी तथा नीजि क्षेत्रले पहिलोपटक नेपाली खेलकुदमा यतिधेरै लगानी गरेको छ । राज्यले नेपालको खेलकुदमा पर्याप्त लगानी गर्न सकेको छैन । एनपिएलका माध्यमबाट सरकारी तथा नीजि क्षेत्रको यतिधेरै ध्यान पहिलो पटक गएको छ । खासमा क्रिकेट खेलाडी मात्र होइन, सारा नेपाली खेलाडी घरको लगानीको भरमा खेलमा समर्पित भएको अवस्था छ । घरपरिवारको साथले मात्र उनीहरु विश्वसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । यसका लागि उनीहरुलाई सरकारी तथा नीजि क्षेत्रको पर्याप्त साथको आवश्यकता छ । खेलकुद स्वयम् खेलाडी र उनीहरुका अभिभावकका भरमा छाड्ने हो भने केवल सहभागितामा मात्र सीमित बन्ने छ ।
केही वर्षअघिसम्म नेपालका खेलकुद प्रतियोगिता प्रत्यक्षरुपमा हेर्न असम्भव जस्तै थियो । यसका लागि प्रतियोगिता स्थल सम्मै पुग्नुबाहेक अन्य विकल्प थिएन । नेपाली खेलकुदका समर्थक तथा प्रशंसकले विश्वको जुनसुकै कुनाबाट पनि एनपिएल प्रत्यक्षरुपमा हेर्न सक्नेछन् । चर्चित स्पोर्टस् टेलिभिजन ‘स्टार स्पोर्टस्’ले प्रतियोगिताका सबै ३२ खेलको प्रत्यक्ष प्रसारण गर्दैछ । नेपालमा पहिलोपटक आजदेखि सुरु हुनगइरहेको नेपाल प्रिमियर लिग भारतीय घरेलु क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपिएल) कै ढाँचामा सुरु हुन लागेको छ । एनपिएल नेपाली क्रिकेटका लागि चुनौती र अवसर दुवै हो । नेपालमा विगतमा पनि एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग, नेपाल टी २० लिगलगायतका फ्रेन्चाइज प्रतियोगिता आयोजना गरिएका थिए । तर पहिलो संस्करणको एनपिएलभने हालसम्मकै ठूलो प्रतियोगिता हो । खेलाडीहरूका लागि एनपिएलले विशेष महत्त्व राखेको छ । खेलाडी आर्थिक रुपमा पनि बलिया भएका छन् । उनीहरु कम्तीमा रु दुई लाखदेखि बढीमा रु २० लाखसम्ममा अनुबन्धित भएका छन् ।
फ्रेन्चाइज टोलीले रु सात करोडदेखि रु नौ करोडसम्म खर्च गरेका छन् । टोलीका मालिकहरूले यसलाई नेपाली क्रिकेट विकासको सुरुआती लगानीका रूपमा लिएका छन् । उनीहरुले आगामी दिनमा समेत लगानीलाई निरन्तरता दिने सोच बनाएका छन् । क्यानले यसपटकको एनपिएललाई लगानी वर्षको रूपमा लिएको छ । एनपिएलका माध्यमबाट कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नति भएको छ । डिजिटल स्कोर बोर्ड निर्माण गरिएको छ । दर्शकका लागि अस्थायी प्याराफिटको व्यवस्था गरिएको छ ।
विदेशी खेलाडी अनुबन्धले एनपिएललाई अझ खास बनाएको छ । उनीहरुको सहभागिताले नेपाली क्रिकेटको विकासमा थप मद्दत पुगेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने जस्तै एनपिएलले ठूलो उचाइ लिने विश्वास गरिएको छ । एसोसिएट देशमा गरिएको यो लिगलाई विश्वभर विशेष रुपमा हेरिएको छ । केही एसोसिएट देशले यस्ता लिगहरु आयोजना गर्दै आए पनि सफल हुन सकिरहेका छैनन् । यस्तोमा नेपालको एनपिएल पनि चुनौतीपूर्ण बनेको छ । एनपिएलले आगामी दिनमा गति लिनेमा क्यान अध्यक्ष चन्द विश्वस्त हुनुहुन्छ । एनपिएलमा सबै प्रदेशको प्रतिनिधित्वले अझ धेरै महत्व राखेको छ ।
एनपिएललाई मुख्य प्रायोजन सिद्धार्थ बैंकले गरेको छ । नेपाली क्रिकेटको सबैभन्दा ठूलो ‘इभेन्ट’का लागि क्यानले सिद्धार्थ बैंकलाई प्रमुख प्रायोजकको रूपमा भित्र्याएको हो । क्यान र सिद्धार्थ बैंकबीच पाँच वर्षका लागि सम्झौता भएको छ । सम्झौताअनुरुप एनपिएलका लागि यस वर्ष उसले रु २० करोड प्रायोजन गरेको छ । यो नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रायोजन सम्झौता हो । सिद्धार्थ बैंकको प्रायोजनपछि अरु नीजि क्षेत्रको पनि क्रिकेटतर्फ ध्यान गएको छ । क्रिकेटले पाएको सहयोग विस्तारै अन्य खेलले पनि पाउने सम्भावना बढेर गएको छ । यो नेपाली खेलकुदका लागि सबैभन्दा सुखद पक्ष हो । यसबाट नेपालका खेलाडी, प्रशिक्षक, विभिन्न खेलसँग आवद्ध संघसंस्था र खेलप्रेमी उत्साहित भएका छन् ।