कन्यामको टि-टेस्टिङ सेन्टर मंसिर २७ देखि सञ्चालन गरिने
इलाम । चियाको राजधानी मानिने इलामको सूर्याेदय नगरपालिकास्थित पर्यटकीय कन्याम चियाबारीभित्र रहेको टि-टेस्टिङ एन्ड प्रोमोसन सेन्टर यही मंसिर २७ देखि सञ्चालन गरिने भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सेन्टर उद्घाटन गर्नेगरी कार्यक्रम तय भएको सूर्याेदयका मेयर रणबहादुर राईले जानकारी दिए । उद्घाटनमा प्रदेशका अरू मन्त्रीसमेत आउनेछन् ।
कोशी प्रदेश सरकार र सूर्याेदय नगरको संयुक्त लगानीमा करिब २३ करोड रुपैयाँ खर्चेर सेन्टर स्थापना भएको हो । अहिले सेन्टरको भौतिक पूर्वाधार तयार भएको छ । उपकरणसमेत जडान भएका छन् ।
अब केन्द्रमा चिया चाख्ने (टि टेस्टिङ)को काम हुनेछ भने चिया अनुसन्धानका लागि भौतिक पूर्वाधार तयार छ । आवश्यक थप उपकरण व्यवस्थापन गरिँदैछ ।
‘इलामका लागिमात्र होइन, यो सेन्टर देशकै लागि नमुना हुनेछ,’ मेयर राईले भने, ‘चियाको स्वाद, गुणस्तर जाँचदेखि चियासम्बन्धी सबैखाले अध्ययन यही केन्द्रमा हुनेछ ।’
चियाले प्रख्यात इलामको पनि कन्याम चियाबारीबीचमा निर्मित केन्द्रमा पर्यटकसमेत आकर्षित हुनेछन् । यसले चियाको व्यापार प्रवद्र्धनमा समेत सघाउने कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले बताए ।
‘अहिले गुणस्तरीय चिया जाँच गर्ने, यसको व्यापार र गुणस्तर प्रवद्र्धन गर्नमा किसानलाई समस्या भइरहेको छ,’ मन्त्री रानामगरले भने, ‘अब कन्याममा नेपालकै नमुनाका रूपमा यो केन्द्र स्थापना भएको छ ।’
मेयर राईले केन्द्रमा विश्वभरका जो–कोही चिया व्यापारी वा टी–इन्स्पेक्टर (चियाविज्ञ)ले चियाको गुणस्तर जाँच गर्न सक्ने बताए । त्यतिमात्र होइन, कन्याम घुम्न आउने पर्यटकले समेत थरिथरिका चिया चाख्न पाउने नगरले जनाएको छ ।
सेन्टर सञ्चालनका लागि नगरले कार्यविधि तयार गरेको छ । मेयर राईले टि टेस्टिङ नगरअन्तर्गत नै हुने तर अनुसन्धानको काम भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गर्ने बताए । पालीका पेजबाट