भारतमा ‘पुष्पा २’को सुनामी, ‘जवान’को रेकर्ड तोडियो
साउथ सुपरस्टार अल्लू अर्जुन अभिनीत फिल्म ‘पुष्पा २’ले भारतीय बक्स अफिसमा सुनामी ल्याएको छ । एड्भान्स बुकिङ नै आक्रामक देखिएको फिल्मलाई ‘रेकर्ड ब्रेक’ ओपनिङ मिलेको छ । भारतमा सबैभन्दा ठूलो ओपनिङ पाएको ‘आरआरआर’ (१३३ करोड) र हिन्दीमा कीर्तिमानी ओपनिङ गरेको ‘जवान’ (६५ करोड ५० लाख) दुवैको रेकर्ड फिल्मले तोडेको छ ।
‘पुष्पा २’ले पहिलो दिन भारतमा १७५ करोड कमाई गरेको इन्डिया एक्सप्रेसले जनाएको छ । त्यसमा सबैभन्दा ठूलो योगदान तेलुगू भर्सनको छ । यो भर्सनले ९५ करोडको ओपनिङ गरेको छ भने हिन्दीमा ६७ करोड कमाएको जनाइएको छ । त्यस्तै, तमिलमा ७ करोड, कन्नडमा १ करोड र मलयालम भाषामा फिल्मले ५ करोडको ओपनिङ गरेको छ ।
विश्वव्यापी भने फिल्मको कमाई ३०० करोडमाथि रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । योसँगै ‘पुष्पा २’ पहिलो दिन विश्वव्यापी सर्वाधिक कमाउने भारतीय फिल्म समेत बनेको छ । यसअघि यो रेकर्ड ‘आरआरआर’को नाममा थियो । यसले पहिलो दिन विश्वव्यापी २२३ करोड कमाएको थियो । अब यो रेकर्ड तोडिएको छ । शुक्रबार पनि फिल्मले ठूलो अंक जोड्ने देखिएको छ ।
बिहीबार रिलिज भएको ‘पुष्पा २’लाई चार दिनको विकेन्ड मिलेको छ । पहिलो दिन नै विश्वव्यापी ३ सय करोड कमाएको फिल्मले चार दिने विकेन्डमा एक हजार करोड नघाउन सक्ने प्रक्षेपण गरिएको छ । अहिलेसम्म भारतमा सबैभन्दा धेरै कमाउने फिल्म ‘दंगल’ हो, जसले चीनमा रिलिजपछि २५ सय करोड कमाएको थियो । र, ‘बाहुबली २’ १८ सय करोडसहित विश्वव्यापी सर्वाधिक कमाउने भारतीय फिल्मको दोस्रो स्थानमा छ ।
‘पुष्पा २’लाई सुकुमारले लेखन तथा निर्देशन गरेका हुन् । यसमा अल्लू अर्जुनसहित रश्मिका मन्दाना, फहद फासिल लगायतको अभिनय छ । रक्तचन्दन काठको तस्करीमा ठूलो साम्राज्य खडा गरेको पुष्पराज पात्रको वरिपरि फिल्मको कथा केन्द्रित छ । तर, यसपटक फिल्म कथामा मार खाएको छ । निर्देशकले एक्सन मात्र बेच्न खोजेको देखिन्छ । जसले दर्शकलाई निराश तुल्याउँछ ।