हल्का वर्षाकाे सम्भावना, आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन विभागकाे आग्रह
झापा । जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाले आइतबार आज साँझदेखि मौसम बदली हुने जानकारी दिएको छ । विभागले विशेष बुलेटिन जारी गर्दै पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आज साँझदेखि नेपालका धेरै स्थानमा आंशिकदेखि साधारण बदलीको सम्भावना रहेको जानकारी दिएको हो ।
जुन प्रणालीको प्रभावका कारण आज साँझदेखि भोलि रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । साथै यो मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको पनि जनाइएको छ ।
‘वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।’ महाशाखाबाट दैनिक जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिनमा जनाइएकाे छ ।