भद्रपुर नाकाबाट सोजै भित्रिएको कारको ब्याक लाइटभित्र स्पोर्टस् सुज र बेल्ट भेटिएपछि…
भद्रपुर । भद्रपुर नाकाबाट भन्सार छलेर स्पोर्टस् सुज र छालाको बेल्ट भित्राउने एउटा भारतीय नम्बर प्लेट भएको सुजुकी कारलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सीमामा तैनाथ दुवै देशका सुरक्षाकर्मीले चेकजाँच गरी छाडेका कारभित्रबाट विशेष सूचनाको आधारमा ६० जोर फुटबल सुज, ४० थान छालाको बेल्ट र लाइटर बरामद गरिएको छ।
शुक्रबार बिहान ८ बजेको समयमा डब्लुबी ५२ जी ९४१८ नम्बरको भारतीय सुजुकी कार भद्रपुर–५ स्थित मेची पुलबाट नेपाल प्रवेश गरेका थिए। सो कारलाई नाकामै रोकेर चेकजाँच गरिएको थियो। तर, कारभित्र केही नदेखेपछि सुरक्षाकर्मीले नेपाल प्रवेश गर्न अनुमति दिएका थिए।
सो कारभित्र सरसामान ल्याएको भनी सशस्त्रलाई तत्कालै सूचना प्राप्त भयो। सशस्त्रले भद्रपुर भन्सार कार्यालय अगाडि सुजुकी कारलाई रोक्ने सङ्केत गर्दा नरोकी भाग्ने क्रममा उक्त कारलाई पन्छ्याउँदै भद्रपुर–८ स्थित हडिया चिया बगानमा कार छाडेर चालक फरार भएका थिए। त्यसपछि सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरले कारलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा कारको ब्याक लाइटभित्र छुट्टै बनाइएको बक्सबाट स्पोर्टस् सुज, बेल्ट र लाइटर बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेडक्वाटर झापाका डीएसपी मदनकुमार रसाइलीले जानकारी दिए। सामान र कार कसको भनी खुलेको छैन।
चालक फरार भएकोले त्यस बारेमा अनुसन्धान भइरहेको डीएसपी रसाइलीले बताए। नियन्त्रणमा लिएको कारसहित सामानलाई ११ लाख ७१ हजार १ सय रुपैयाँ मूल्याङ्कन तोकेर आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसकेको डीएसपी रसाइलीले बताए। गत भदौ २३ गते मेचीनगरको काँकडभिट्टा नाकाबाट प्रवेश गरेको डब्लुबी ७४ एन ६८७८, डब्लुबी ७४ पी ७७९९ र डब्लुबी ७४ एन ८५६२ नम्बरको भारतीय कारसहित तीन जनालाई चालकलाई अवैध सामानसहित नियन्त्रणमा लिएको थियो। तीन वटै कारले ब्याक लाइट हुने ठाउँमा बक्स बनाएर त्यहाँभित्र लत्ताकपडा राखी भन्सार छलेर नेपाल भित्राउने खोजेका थिए।
प्रहरीले ती कारहरू भित्र लुकाइछिपाई ल्याएको अन्दाजी ३ लाख ९९ हजार एक सय रुपैयाँ बराबरको पुरुष ट्राउजर ११० पिस, लेडिज ट्राउजर ४२ पिस, रुमाल १२५० पिस, लेडिज सर्ट २२ पिस, कुर्था ३२ पिस, भेष्ट ५३ पिस , लेडिज ब्रा ५२८ पिस, लेडिज भेष्ट १८ पिस, कुर्थी १० पिस र लेडिज सर्ट १७ पिस फेला परेको थियो।
ती सामानहरूसहित अन्दाजी २४ लाख बराबरको तीन वटा कार र त्यसका चालकहरू भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला पानीट्याङकी बस्ने ४२ वर्षीय रामदयाल बर्मन, सोही ठाउँका ३३ वर्षीय अमित राय र ४६ वर्षीय राजकुमार घोषलाई नियन्त्रणमा लिएर मेची भन्सार बुझाएका थिए। काँकडभिट्टामा सो घटना बाहिरिएपछि त्यहाँका तस्कर समूहले सोही शैली भद्रपुर नाकामा अपनाएर सरसामान भित्राउँदै आइरहेका थिए।