पूजा इलेक्ट्रोनिक्स र जय माँ दुर्गा टायल्समा राजश्वको छापा
झापा । बिर्तामोडका दुईवटा पसलमा राजश्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको छ । झापाको बिर्तामोड स्थित पूजा इलेक्ट्रोनिक्स र जय माँ दुर्गा टायल्समा राजश्वले छापा हानेको हो । भन्सार छलेर अवैध रुपमा सामान ल्याएको आशंकामा राजश्वको टोलीले उक्त पसलमा छापा मारेको हो ।
राजश्वका कर्मचारीले ती पसलका स्टक बुकलगायतका कागजपत्र लिएर गएको बताइएको छ । राजश्व अनुसन्धान कार्यालय इटहरीका कार्यालय प्रमुख उत्तम घिमिरेको नेतृत्वमा आएको टोलीले गोप्य सुचनाका आधारमा उक्त पसलमा छापा मारेको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख घिमिरेले गोप्य सुचनाका आधारमा छापा मारिएको पुष्टि गरे । उनले कागजातहरु लगिएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।
राजश्वको टोलीले पसलमा सिल गर्न खोज्दा आफूहरुले रोकेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए । उनले यदी गल्ती गरेको भेटिए कारवाही गर्नु तर पसल शिल गर्दा ब्यवसायीमा नकारात्मक असर पुग्ने बताएपछि टोली पसल शिल नगरी फर्किएको थियो । उस अघि पनि राजश्व अनुसन्धान कार्यालय इटहरीले बिर्तामोडका बिभिन्न पसलमा छापा हान्ने गरे पनि कार्वाहि गर्नुको सट्टा लाइन मिलाएर रकम असुल्ने गरेको आरोप लाग्ने गरेको छ ।