अस्ताए नेपाली शान्ति प्रक्रियाका साथी कार्टर
काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति जेम्स अर्ल कार्टर जुनियर (जिम्मी कार्टर) को सय वर्षको उमेरमा आइतबार निधन भएको छ । धेरैले नेपालसँग उनको सम्बन्ध जोड्दा शान्ति प्रक्रिया अघि बढाउन र संविधानसभाको चुनाव गराउन पहल गर्ने साथीका रूपमा चिन्छन् । यद्यपि, उनको नेपाल साइनो त्यसभन्दा पनि दशकौं पुरानो हो ।
’ राष्ट्रपतिबाट हटेको एक वर्षपछि नै सन् १९८२ मा कार्टर सेन्टर स्थापना गरेर विश्वभर लोकतन्त्र, मानवअधिकार र बालअधिकारका क्षेत्रमा काम गर्न थालेका उनी सन् १९८५ मा पत्नी रोजालिनका साथ पदयात्राका लागि नेपाल आएका थिए ।
‘त्यतिबेला उहाँ कालापत्थर पनि जानुभएको थियो, नेपालमा दुई साता बिताउनुभएको थियो,’ सन् २००४ मा नेपालको शान्ति प्रक्रियालाई सघाउन खुलेको कार्टर सेन्टरका राजनीतिक विश्लेषक घनश्याम ओझा भन्छन्, ‘त्यही बेलादेखि उहाँलाई नेपालको निकै माया लागेको रहेछ ।’ नेपालप्रति कार्टरको यही चासो बुझेर होला, दरबार हत्याकाण्डपछि राजाले सत्ता हत्याउँदा गणतन्त्रका लागि संयुक्त आन्दोलन गर्ने तयारीमा रहेका ७ दल र विद्रोही माओवादीले अन्तर्राष्ट्रिय समर्थन जुटाउन कार्टरलाई नै सम्पर्क गरेका थिए ।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कार्टरले अमेरिकी दृष्टिकोणलाई बढी लचिलो बनाउन मुख्य भूमिका निर्वाह गरेका थिए । पहिलो संविधानसभाको चुनाव २०६४ चैत २८ मा हुनुअघि उनी पर्यवेक्षणमा आएका थिए । अमेरिकाले आतंकवादी सूचीमा राखिराखेकै बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल, तत्कालीन उपाध्यक्ष बाबुराम भट्टराईलगायत नेतालाई कार्टरले भेटेका थिए । त्यो भेटको सम्झना अझै ताजा रहेको भट्टराईले बताए ।