इटहरी उपमहानगरपालिकाको गेट अगाडि राजावादीको बम
झापा। इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको छ । उपमहानगरपालिका अगाडिको घुम्ती पसल छेउमा कालो झोलामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए
उनका अनुसार उपमहानगरपालिकासँगै भोटेपुल र बुढी खोलामा पनि बम राखेको भन्दै प्रहरीलाई सूचना आएको थियो । सूचनामा भनिए अनुसारको कालो झोला भने उपमहानगरपालिका अगाडि मात्रै भेटिएको छ । भोटेपुलमा शंकास्पद वस्तु नभेटिएको उनले बताए ।
आज बिहान करिब साढे ४ बजे इलाका प्रहरी कार्यालय इटहरीमा राजावादी समूहको नाममा तीन ठाउँमा बम राखेको भन्दै म्यासेज आएको थियो । प्रहरीलाई आएको सूचनामा आजदेखि सशस्त्र संघर्ष सुरु भएको भनिएको छ । प्रहरीले शंकास्पद वस्तु राख्ने र प्रहरीलाई सूचना दिने व्यक्तिको खोजी गरिरहेको उनले बताए ।