नेपाल फेरि चुक्यो,महिला च्याम्पियनसिपको उपाधि म्यानमारलाई
झापा । नेपाली महिला राष्ट्रिय फुटबल टिमको पहिलो उपाधि जित्ने सपना आज पनि पूरा हुन पाएन ।

दशरथ रंगशालामा भएको चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा खेलको दोस्रो हाफमा म्यानमारले २ गोल गर्दै नेपाललाई घरेलु मैदानमा स्तब्ध पारेको हो। यो हारसँगै नेपालले १३औं फाइनलमा पनि रजतमा सीमित भएको हो।
खेलमाथि नेपालको पूर्ण नियन्त्रण रहे पनि टिमले त्यसको फाइदा उठाउन सकेन र म्यानमारले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गरेको हो ।
यु पर किनले खेलको ६२ औं मिनेटमा गरेको गोलको मद्दतले म्यानमारले अग्रता लिएको थियो । एक गोलले पछाडि रहेको स्थितिमा नेपाल थप दबाबमा आयो र गीता रानाले ६४ औं मिनेटमा आत्मघाती गोल गरिन् । विनको प्रहार जोगाउन क्रममा गीताले बललाई आफ्नै पोस्टको दिशा दिइन् । खेलको ७० ओं मिनेटमा रश्मिकुमारीको प्रहार म्यानमारकी गोलरक्षक म्यो म्या म्याले जोगाइन् ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगेको थियो । म्यानमारकी सान थउ थउले २४ औं मिनेटमा गरेको प्रहारलाई गोल लाइनबाट विमला विकले जोगाएकी थिइन् । यस्तै खेलको ३५ औं मिनेटमा सावित्रा भण्डारी, रेखा पौडेल र सविता रानामगरले लगातार मौका पाए पनि त्यो निर्णायक सावित हुन सकेन् ।
नेपालले खेलेको यो १३ औं फाइनल हो र ती सबैमा नेपाल पराजित रहेको छ । नेपालले म्यानमारको सामना गरेको यो छैटौं खेल हो । यसमध्ये नेपालले अहिलेसम्म कुनै पनि जित निकाल्न सकेको छैन । नेपालको चार दशकयता पहिलो उपाधि जित्ने सपना अधुरै रहेको छ । सन् २०१९ मा भारतको भुवनेश्वरमा भएको हिरो गोल्डकपको फाइनलमा पनि म्यानमारले नेपाललाई नै हराएको थियो ।