काँकडभिट्टा नाकाबाट सुनजस्तो ४९ थान धातुसहित पाँचजना पक्राउ
झापा । काँकडभिट्टा नाका हुँदै भारतबाट सुनजस्तो धातु ल्याउँदै गर्दा पाँचजना पक्राउ परेका छन् ।

आज दिउँसो १२ः३० बजे मेचीनगर ६ पुरानो मेची पुलमा पानीट्याङ्कीबाट नेपालतर्फ भाडाको सिटी सफारीमा चढेर आउँदै गर्दा शंका लागेर प्रहरीले शरीर तलासी लिएको थियो । ताप्लेजुङ मैवाखोला गाउँपालिका वडा नं. ६ स्थाइ वतन भई हाल झापा बुद्धशान्ति गाउँपालिका वडा नं. २ बस्ने बर्ष ४० का राम लिम्बू र रामेछाप दुरम्बा गाउँपालिका वडा नं. ७ स्थाई वतन भई हाल काठमाण्डौ डल्लु बस्ने बर्ष २६ का प्रशान्त मोक्तानको शरीर तलासी लिँदा ४९ थान सुनजस्तो धातु फेला परेको हो ।
लिम्बूले लगाएको ज्याकेटको गोजीभित्र पत्रिकाले बाइन्डीङ गरेको जम्मा ३ पोका रहेकोमा खोली हेर्दा निलो रंगको कार्ड जस्तो देखिने PAMP लेखिएको कार्डको वीच भागमा (CREDIT SUISSE २० g FINE GOLD ९९९.९ ) लेखिएको सुनजस्तो देखिने २९ थान वस्तु फेला परेको थियो भने मोक्तानले लगाएको कालो रंको जिन्स पाइन्टको अगाडी र पछाडीको गोजीमा पत्रिकाले बाइन्डीङ गरेको जम्मा २ पोका रहेकोमा खोली हेर्दा निलो रंगको कार्डजस्तो देखिने PAMP लेखिएको कार्डको वीच भागमा (CREDIT SUISSE २० g FINE GOLD ९९९.९ ) लेखिएको सुनजस्तो देखिने २० थान वस्तु फेला परेको थियो ।
यसैबीच अनुसन्धानका क्रममा थप तीनजना पक्राउ परेका छन् । बारा जितपुर नगरपालिका वडा नं. १८ स्थाइ वतन भई काठमाण्डौ बुढानिलकण्ठ बस्ने बर्ष ५७ का राधेश्याम माझी , रुकुम बाफिकोट गाउँपालिका वडा नं. ७ बस्ने स्थाई वतन भई दाङ तुलसीपुर–१३ बस्ने बर्ष ४० का कमल कुसारीको र भारत पश्चिम बंगाल दार्जिलिङ बस्ने बर्ष ६३ का बलबहादुर क्षेत्री पक्राउ परेका हुन् । उनीहरुलाई मेचीनगर नगरपालिका ६ स्थित होटल एभरेष्टबाट पक्राउ गरिएको हो ।
पाँचै जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।