राजश्व छली प्रकरणः कन्टेनरको छानबिन गर्दै राजश्व अनुसन्धान: रेकर्डमै छैन ८० कार्टुन हुक्काको फ्लेवर
झापाको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयभित्रबाट लाखौँ रुपैयाँ राजश्व छलेको आशंकामा प्रहरीले सामानसहित नियन्त्रणमा लिएको कन्टेनरमाथि राजश्व अनुसन्धान कार्यालय इटहरीले छानबिन शुरु गरेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले साउन १२ गते शुक्रबार बेलुका ७ बजेर १५ मिनेटमा मेचीनगर–६ स्थित फायरिङ चोकमा पार्किङ गरी राखिएको ना६ख ४९०२ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिएको थियो ।
मेची भन्सार परिसरबाट विभिन्न सामान लोड गरी बाहिरिएको कन्टेनरभित्र राजश्व छलेको लाखौँ रुपैयाँको सामान रहेको विशेष सूचनाको आधारमा प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको थियो । कन्टेनरभित्र भन्सारमा राजश्व तिरेकोभन्दा बढी परिमाणको सामान फेला परेपछि आवश्यक कारबाहीका लागि शनिबार राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
प्रहरीले बरामदी मुचुल्कासहित पठाएको सामानसहितको कन्टेनर कार्यालयभित्रै राखिएको राजश्व अनुसन्धान कार्यालयका प्रमुख सुरेश आचार्यले जानकारी दिए । सामानको धनी सम्पर्कमा आइसकेको छ, अहिले प्रारम्भिक अनुसन्धानमै छौँ– राजश्व प्रमुख आचार्यले भने– कन्टेनरभित्रै सामान छ, हामीले कन्टेनर खोलेका छैनौँ, प्रक्रिया पूरा गरी सामान हेर्ने छौँ ।
‘प्रहरीको बरामदी मुचुल्का र भन्सार प्रज्ञापन–पत्र दुवै केलाएर छानविन गर्ने बताउँदै उनले भने– ‘छानबिन गरी सकेपछि मात्र थप कुरा भन्न मिल्छ ।’ अहिले नै केही भन्ने अवस्था नभएको उनको भनाइ छ ।
कन्टेनरमा भन्सार तिरेको भन्दा बढी सामान
शुक्रबार दिउँसो १ बजे ३२ मिनेटमा ना ६ ख ४९०२ नम्बरको खाली कन्टेनर मेची भन्सार कार्यालय प्रवेश गरेको थियो । सन्तोष खवास प्रोप्राइटर रहेको स्वाभिमान सन्स एण्ड सप्लायर्स मेचीनगरले एग्जिम कोड नम्बर ६०१२७१५४८०१५५ एनपीका नाममा काँकरभिट्टासम्म लैजाने गरी भन्सार एजेन्ट ढकेन्द्र कार्की (एजेन्ट नम्बर १०७८) बाट पैठारीका लागि दर्ता भएको प्रज्ञापनपत्र नम्बर एम १००८५ उल्लेख भएकोबाट काँसको झ्याम्टा २ हजार ६२ पिस, कालो साबुन २०० किलो र हुक्कामा प्रयोग हुने कोइला ३६० किलो समेतका मालवस्तु एक लाख ५६ हजार ७ सय ९० रुपैयाँ राजश्व बुझाइ भन्सार जाँचपास भएको र सो मालवस्तुहरु कन्टेनरमा लोड गरी शुक्रबारसाँझ ६ बजेर २४ मिनेटमा बाहिरिएको मेची भन्सारका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘भन्सार अधिकृत र जाँचकीले दिएको जानकारी र भन्सार अभिलेख अनुसार त्यो दिन राजश्व तिरेर लगिएको ती सामान मात्र विज्ञप्तिमा निकालेको हो’– सूचना अधिकारी लम्सालले भने । त्योभन्दा छुट्टै सामान लगेको भन्सारको अभिलेखमा नभएको उनले बताए ।
तर, झापा प्रहरीले भन्सारबाट बाहिरिएको सिलबन्दी बिनाको कन्टेनर नियन्त्रणमा लिएर सामानको गन्ती गर्दा भन्सारमा राजश्व तिरेको भन्दा फरक र बढी सामान बरामद भएको थियो । प्रहरीले कन्टेनरभित्रबाट टेलीफोन नाम लेखिएको भाँडा माझ्ने साबुन २५ कार्टुन, काँसको झ्याली÷झ्याम्टा २६ बोरा (ब्याग) दुई हजार ४ सय ६५ केजी, अफजल प्रामाणिक स्वादको गुड नाम लेखिएको हुक्काको फ्लेवर ८० कार्टुन र कोको जिल नाम लेखिएको हुक्कामा प्रयोग हुने कोइला ६० कार्टुन फेला परेको प्रहरी कार्यालय झापाका डीएसपी रिजालले बताए ।
‘भन्सारको प्रज्ञापनपत्रमा अफजल प्रामाणिक स्वादको गुड नाम लेखिएको हुक्काको फ्लेवर नै छैन, त्यो फ्लेवर ८० कार्टुन कन्टेनरमा भेटियो’– डीएसपी रिजालले भने । एउटा कार्टुनमा २५ प्याकेट थियो । एउटा प्याकेटको नेपाली बजार मूल्य एक हजार रुपैयाँ पर्छ । ‘जम्मा दुई हजार प्याकेटको २० लाख रुपैयाँ हुन्छ’– उनले थपे ।
त्यस्तै प्रज्ञापनपत्रमा हुक्कामा प्रयोग हुने कोइला ३० कार्टुन लेखिएकोमा ६० कार्टुन फेला प¥यो, ३० कार्टुन बढी । काँसको झ्याली÷झ्याम्टा १५ ब्याग प्रज्ञापनपत्रमा लेखिएकोमा २६ ब्याग फेला प¥यो ।
‘प्रज्ञापनपत्र अनुसार २५ कार्टुन भाँडा माझ्ने साबुन मात्र मिल्छ’– डीएसपी रिजालले भने– ‘साबुन बाहेक कुनै सामान प्रज्ञापन–पत्र अनुसार मिल्दैन, बढी परिमाणको सामान भन्सारभित्रबाटै कन्टेनरमा हालेर व्यापारीले लैजान खोजेका थिए, अनि प्रहरीले समात्यो ।’ एक करोड १ लाखको सामान र २० लाखको कन्टेनरसहित एक करोड २१ लाख २७ हजार ५ सय मूल्य तोकेर आवश्यक कारर्वाहीका लागि राजश्व कार्यालयमा बुझाइसकेको उनले बताए ।
यसरी समातियो कन्टेनर …
शुक्रबार दिउँसो १ बजे ३२ मिनेटमा ना ६ ख ४९०२ नम्बरको खाली कन्टेनर मेची भन्सारभित्र प्रवेश गरेर सामान लोड गरिरहेको अवस्थामै प्रहरीलाई सूचना आएको थियो ।
प्रहरीलाई सूचना दिनेले कन्टेनरभित्र प्रज्ञापनपत्र तिरेकोभन्दा बढी सामान लोड हुँदैछ भनेर जानकारी गरायो । सूचना आए लगत्तै प्रहरी टोली भन्सार गेट अगाडि सादा पोशाकमा तैनाथ भइ हाले । साँझ ६ बजेर २४ मिनेटमा कन्टेनर भन्सारको दुई नम्बर गेटबाट बाहिरियो । कन्टेनर भन्सारबाट निस्किएको दृश्य सीसी क्यामेरा फुटेजमा पनि सुरक्षित छ, त्यसपछि प्रहरीले कन्टेनरलाई पच्छ्याउन थाले ।
चालकले सामानसहितको कन्टेनरलाई मेचीनगर–६स्थित फायरिङ चोक नजिकैको खाली ठाउँमा लगेर पार्किङ गरी राखे । अनि चालक कन्टेनरबाट ओर्लिएर एकाएक बेपत्ता भए । प्रहरी कन्टेनर हेर्दै चालकलाई कुरेर बसे । चालक नआएपछि ७ बजेर १५ मिनेटमा त्यहाँ खटिएका प्रहरीले जिल्ला प्रहरी कार्यालय झापालाई खबर गरे । जिल्लाले इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी दीपक भारतीलाई घटनास्थल पठाएँ ।
डीएसपी भारतीसहितको प्रहरी टोलीले बरामद मुचुल्का पूरा गरी कन्टेनर पार्किङ स्थलबाटै नियन्त्रणमा लिएर इलाका लगे । प्रहरीले चालक बस्ने सिटबाट तीन वटा सामान उल्लेख भएको भन्सार एक्जिट गेट पास भएको पत्र फेला पारेको थियो । त्यो बाहेक सामानको कुनै आवश्यक कागजात लिएर सम्बन्धित व्यक्ति सम्पर्क नआएको र भोलिपल्ट शनिबार सिलबन्दी बिनाको कन्टेनर खोलेर सामानको गन्ती गरेको डीएसपी रिजालले बताए ।
Source: Purwanchal Daily