अभिभावक शिक्षाका लागि सहजकर्ता छनोट गर्दै रोङ
इलाम। सामुदायिक विद्यालयका अभिभावकलाई शिक्षा दिने उद्देश्यले इलामको रोङ गाउँपालिकाले सुरु गर्न लागेको अभिभावक शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अघि बढाएको छ ।
गाउँपालिकाले अभिभावक शिक्षाका लागि सहजकर्ता छनोट प्रक्रिया अघि बढाएको हो । सहजकर्ता नियुक्तिका लागि सात दिने सूचना जारी गरिसकेको गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले जानकारी दिइन् । अभिभावक शिक्षालाई प्रभावकारी बनाउन कार्यपालिका बैठकले ‘अभिभावक शिक्षा संचालन कार्यविधि’ समेत स्वीकृत गरिसकेको उनले बताइन् ।
सोही कार्यविधिअनुसार सहजकर्ताका लागि आवेदन आह्वान गरिएको गाउँपालिकाले जनाएको छ । सहजकर्ताका लागि १५ जनाले आवेदन दिएको गाउँपालिकाले जनाएको छ । उनीहरूलाई चाँडै तालिमको व्यवस्थापन गरिने गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए ।
तालिमपछि सचेतनामूलक कार्यक्रम अघि बढाइने उनको भनाइ छ । ‘शिक्षाको गुणस्तर सुधारको लागि अभिभावकको भूमिका महत्त्वपूर्ण रहन्छ । त्यही कारण अभिभावक शिक्षा लागू गर्न लागेका हौँ,’ उनले भने ।
सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि शिक्षा दिवसकै दिन ‘अभिभावक शिक्षा’ लागू गर्ने घोषणाा गरेको थियो । जसअन्तर्गत गाउँपालिकाले अभिभावकलाई विद्यालयमै बोलाएर पढाउने योजना बनाएको छ । सामुदायिक विद्यालयका विद्यार्थीका अभिभावकलाई महिनाको एक दिन विद्यालयमै ल्याइएर पढाइने गाउँपालिकाले जनाएको छ । त्यस दिन कक्षा आठभन्दा माथिका विद्यार्थीले भने घरमा बसेर अभिभावकले गर्ने काम गर्नुपर्नेछ । ‘महिनामा एक दिन अभिभावकलाई शिक्षा सुधारमा अभिभावकको भूमिका, शिक्षाको महत्व, बाल स्याहार, बाल विकास, शिक्षा र संस्कार पढाउँछौँ,’ रोङ अध्यक्ष स्याङ्बोले भने, ‘विद्यार्थीलाई त्यस दिन घरको काम लगाउँदा व्यावहारिक ज्ञान पाउँछन् । आफूलाई विद्यालय पढाउँदा बुबा–आमाले कति दुःख गर्दा रहेछन् भन्ने बुझ्छन् ।’
यो कार्यक्रम लागू भएपछि जानाजान अभिभावक शिक्षामा सहभागी नहुने अभिभावकको वडाबाट हुने सम्पूर्ण सिफारिस रोक्ने पनि कार्यविधिमा उल्लेख छ ।