झापाका मेलामा सेटिङको खेला
खुलेआम खेलाइन्छ जुवा
झापा । झापाका विभिन्न स्थानमा आयोजना हुने बेमौसमी मेला/महोत्सवमा गैरकानुनी खेल खेलाएर सर्वसाधारण लुटिने गरेको फेला परेको छ ।
जिल्लाका विभिन्न स्थानमा अनेक नाम दिई विभिन्न समयमा खेलाइने यस्ता मेलामा “लङ्गुर बुर्जा” र ‘लक्कीसेभेन’ नामको कानुनले बर्जित गरेका खेल खुलेआम खेलाइने गरेको हो ।
जिल्लाभरका मेलामा कानुनी रूपमा बन्देज लगाइएको खेल खेलाउन प्रशासनसँग सेटिङ गर्ने जिम्मा बिर्तामोडस्थित एउटै गिरोहले लिने गरेको छ ।
अवैध खेल खेलाएर सर्वसाधारणबाट रकम असुली गर्न गिरोहले वर्षभरि नै झापाका विभिन्न स्थानमा विभिन्न संस्थाका नाममा मेलाको आयोजना गर्ने गरेको छ । विषेश गरी ६ वटा नम्बर भएको “लङ्गुर बुर्जा” नाम गरेको जुवाजन्य खेलबाट गिरोहले सर्वसाधारणको राम्रै रकम चप्काइदिने गरेको हो ।
अहिले बिर्तामोडमा चलिरहेर्को ‘बिर्तामोड महोत्सव २०८०’ नामको मेलामा समेत लक्की सेभेन खेल खेलाइँदै आएको छ । सुरुमा अधिकतम एक सय रुपँयासम्म राख्न पाइने उक्त खेलमा रात छिप्पिएसँगै न्यूनतम् ५ सय रुपैयाँ प्रतिव्यक्ति राख्न लगाइने गरिएको छ ।
त्यसबापत खेल खेलाउने टोलीले एकै रातमा ८ लाख रुपैयाँ सम्म असुल्ने गरेको छ । मेलामा उठेको रकम प्रशासनसम्म पुग्ने गरेको छ । पैसा भनेपछि महादेवको पनि तिननेत्र भनेझै खवरदार गर्नुपर्नेहरू समेत प्रभावमा परेर ‘तैँ चुप मै चुप’ छन् ।
यसअघि असोज यतामात्रै झापाका वपभिन्न स्थानमा विभिन्न संस्थाका नाममा ५ वटा मेला आयोजना गरिसकिएको छ । व्यापार र विभिन्न संस्थाको सहयोगका लागि भनेर मेला आयोजना गरिने भए पनि त्यसको खास उद्देश्य अवैध खेल खेलाएर सर्वसाधाणरको रकम झ्वाम पार्नु रहेको जानकारहरू बताउँछन् । उता, मेला लगाउने स्वीकृति दिएर जिल्ला प्रशासन कार्यालय भने कानमा तेल हालेर बस्ने गरेको छ ।
मेला लगाउने अनुमति दिएपछि अनुगमन गर्नुपर्ने प्रशासन मौन बस्दा सर्वसाधारण भने छक्क पर्ने गरेका छन् । हप्तैपिच्छे विभिन्न स्थानमा आयोजना हुने यस्ता मेलालाई प्रशासनले स्वीकृति दिएर अनुगमन नगर्दा मेला सिमित व्यक्तिहरू अवैध असुली गर्ने अखडा बन्ने गरेको छ ।