मुलुकसिंहसँगको लेनदेनमा तीन परिवारको बिल्लीबाठ
ऋणको बदला जग्गा धितोको राजीनामा पास, त्यसपछि घरजग्गा कब्जा
झापा । झापाको कमल गाउँपालिका– ३ का मुलुकसिंह राई यस्ता पात्र हुन्, जोसँग कारोबार गर्ने हरकोहीका दुःखका दिन सुरु हुन्छन् । ऋण लगानी गरेर जग्गा धितोको राजीनामा पास गराउने र त्यसपछि घरजग्गा हत्याउने उनको शैली छ । मुलुकसिंहसँगको लेनदेनमा तीन परिवारको बिल्लीबाठ नै भएको छ । मुलुकसिंह, उनका भाइ लीला र मुलुकसिंहकी श्रीमती शोभाविरुद्ध मिटरब्याजविरुद्ध उजुरी दर्ता भए पनि जिल्ला प्रशासन कार्यालय झापाले छिनोफानो गर्न सकेको छैन।
आफूले ऋण नलिए पनि ऋण खोज्नेसँग मुलुकसिंहको भेट मात्र गराइदिएका झापा दमक नगरपालिका– ६ का सौरव शर्माले दमकमा रहेको दुईतले घर र शिवसताक्षीमा रहेको पाँच कट्ठा जग्गा गुमाएका छन् । ‘हामीले पैसा लिएको होइन । चन्दन जिम्दालले मुलुकसिंहबाट कति पैसा लिएका थिए त्यो पनि थाहा छैन,’ सौरवका बुबा रमेश भन्छन्, ‘छोरा सौरवलाई कुटपिट गरे । ज्यान नै जोखिममा परेपछि घरखेत नै साहुको नाममा गरिदियौँ ।’
घटना ०७१ बाट सुरु हुन्छ । कमल गाउँपालिका– ३ केर्खा बजारमा हार्डवेयर पसल गर्दै आएका सौरव शर्मालाई चिनजानका चन्दन जिम्दालले ब्याजमा पैसा खोजिदिन आग्रह गरे । चन्दनको घर दमक– ७ हो । र, उनले साहुकार कमल गाउँपालिका– ३ का मुलुकसिंह राईसँग भेट गराइदिए । जिम्दाल र राईबीचको कारोबारबारे शर्मालाई जानकारी थिएन । तर, जिम्दाल ०७३ भदौमा सम्पर्कविहीन भएपछि मुलुकसिंह र उनका भाइ लीला राईले शर्मालाई ऋण तिर्न दबाब मात्र दिएनन् कोठाबाट उठाए । कुटपिट गरे ।
त्यतिखेर मुलुकसिंहले शर्मालाई धम्क्याएर एक करोड ६० लाखको कागज गराएका थिए भने ३०–३० लाख लेखेर ९० लाखको तीनवटा चेक बनाएर शर्माको हस्ताक्षर पनि गरे । ६ फागुन ०७३ मा सौरवको बिहेको मिति तय गरिएको थियो । तर, ४ फागुनमा कुरा गर्न भन्दै इलाका प्रहरी कार्यालय दमक बोलाइयो । ‘इलाका प्रहरी कार्यालयमा गएको त सीधै भित्र (हिरासत) हाले । त्यहाँ प्रहरीले अर्काको पैसा खान्छस् भन्दै कुटे,’ सौरवले सुनाए ।
बिहेको दुई दिनअघि मात्र छोरा थुनिएपछि बुबा रमेशले घरको मूल्य ९० लाख र बाँकी ३१ लाख रुपैयाँ दिनुपर्ने गरी कागज गरे । अनि छोरी शालु शर्माको नाममा दमकमा रहेको दुईतले घर र शिवसताक्षीमा रहेको पाँच कट्ठा जग्गा ०७३ चैतमा मुलुकसिंहकी श्रीमती शोभा राईको नाममा पास गरिदिएको रमेशले बताए ।
शर्मा परिवारसँग चन्दन जिम्दाल आएपछि घर फिर्ता गर्ने गरी मुलुकसिंहले गरेको कागजात पनि छ । रमेशको घरखेत पास भएको केही समयपछि चन्दन आए । मुलुकसिंहले नै ठगीमा मुद्दा दायर गरेपछि जेल चलान भएका छन् । तर, मुलुकसिंहले अझै घर फिर्ता दिएका छैनन् । शर्मा परिवारले मुलुकसिंह, उनका भाइ लीला र मुलुकसिंहकी श्रीमती शोभाविरुद्ध जिल्ला प्रशासन कार्यालय झापामा मिटरब्याजविरुद्ध उजुरी दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालयले वडा कार्यालयबाट घर फिर्ता दिने गरी भएको कागजात प्रमाणित गरेर ल्याउन भनेको छ । तर, दमक– ६ का वडाध्यक्ष टेकबहादुर थापाले कागजात प्रमाणित गरिदिनै नमानेको पीडित रमेशको दुखेसो छ ।
मुलुकसिंहले कमल गाउँपालिका– ५ की रेणु राईको एक कट्ठा जग्गा पनि हडपेका छन् । रेणुले सात वर्षअघि मुलुकसिंहसँग चार लाख ऋण लिएकी थिइन् । त्यसको बदला रेणुले आफ्नो जग्गा धितोका रूपमा राजीनामा पास गरेर दिएकी थिइन् । ‘धितो राख्नु भनेको राजीनामा दिनु होइन रहेछ । त्यो मलाई थाहा नभएर राजीनामा पास नै गरेर दिएँ । ६ महिनासम्म ब्याज नलाग्ने र ६ महिनापछि कानुनअनुसार ब्याज लाग्ने भनेर कागज गरेको छ । मैले ब्याज पनि तिरेँ,’ उनी भन्छिन्, ‘बाँकी पैसा लिन मान्दैन । सम्पर्कमै छैन । दुःख गरेर कमाएको सम्पत्ति अर्काको नाममा गयो ।’
झापा शिवसताक्षी– ११ का हर्कधन सेवा अहिले मुलुकसिंह र उनका भाइ लीलाका कारण बिखलबन्दमा छन् । उनको बन्दै गरेको तीनतले घर र पूर्व–पश्चिम राजमार्गसँग जोडिएको शिवसताक्षी– ११ दुधेको एक बिघा दुई कट्ठा जग्गा पनि डुबेको छ । ०७३ मा मुलुकसिंह र उनका भाइ लीला राईबाट घर बनाउन भनेर हर्कधनले ८३ लाख ऋण लिएका थिए । ऋण दिन मुलुकसिंह र लीलाले सर्त राखे, जग्गा राजीनामा पास गर्नुपर्छ । घर बनाउने ठाउँको एक बिघा दुई कट्ठा जग्गा उनले मुलुकसिंह र लीला राईको नाममा राजीनामा पास गरिदिए ।
०७८ मा पैसा तिरिसक्ने र जग्गा फिर्ता गर्ने गरी सर्तनामा कागज पनि गरियो । हर्कधनले ६० लाख रुपैयाँ र ब्याजबापत १५ धुर जग्गा दिएका छन् । तर, अहिले उनको करिब १५ करोडको जग्गा साहुकार मुलुकसिंह, लीला र शोभा राईको परिवारको स्वामित्वमा छ । ‘त्यसवेला लीला राईले म त भूपू लाहुरे हुँ । सम्पत्तिको स्रोत देखाउन सजिलो हुन्छ, जग्गा मेरो नाममा राखौँ । अनि तँ त्यो पैसाले व्यापार गर्नु भने,’ हर्कधनले भने, ‘अहिले मलाई डुबाएर जग्गा हत्याइछाडे ।’ अहिले हर्कधनले तिर्ने रकम चार करोड ३९ लाख देखाइएको छ । त्यो तिरे जग्गा फिर्ता गर्ने साहुकारले बताउँदै आएका छन् ।
तर, उनीसँग तिर्ने पैसा छैन । अहिले जिल्ला प्रशासन कार्यालय झापामा मिटरब्याजी राई परिवारविरुद्ध उनले उजुरी हालेका छन् । तर, उनको फिर्तीनामा कागज शिवसताक्षी– ११ का वडाध्यक्ष बहादुर आङ्बोले प्रमाणीकरण गरिदिन नमान्दा समस्या भएको पीडित हर्कधन बताउँछन् । मुलुकसिंहले पीडित हर्कधनको जग्गा मात्र खाइदिएनन्, उनलाई पटक–पटक थुनाएर दुःखसमेत दिए । ‘चेक दिँदै गर्नु, पछि जग्गा फिर्ता गरिदिन्छु भनेर मैले चेक दिएको थिएँ । मलाई एक वर्षअगाडि इलाका प्रहरी कार्यालय दमक र झिलझिलेमा गरी ४५ दिन थुनाए पनि,’ उनले भने ।
अन्य साहुकारको पनि उही शैली
मजदुरी गरेर परिवार पाल्दै आएका शिवसताक्षी– ११ का चन्द्र नेम्वाङ स्थानीय दीपक तामाङबाट ठगिएका छन् । घर बनाउन पैसा चाहिने भएपछि उनले ०७१ मा शिवसताक्षी नगरपालिकाका कर्मचारीसमेत रहेका तामाङसँग ६ लाख ऋण लिए । तामाङले त्यसबापत चार कट्ठा १८ धुर जग्गा राजीनामा पास गरेर धितो राख्नुपर्ने सर्त अघि सारे । अहिले बिखलबन्दमा परेका छन् ।
‘मैले त राजीनामा पास गर्दा यसरी डुबिन्छ भन्ने सोचेको थिइनँ । महेश्वर हुमागाईंको नाममा जग्गा पास गरेर डेढ लाख नगद र गोपालप्रसाद ढुंगेलको नाममा रहेको साढे चार लाखको चेक लिएँ । चेकको पैसा साटिएन,’ नेम्वाङ भन्छन्, ‘पछि त मेरो जग्गा नै हडपेछन् । अहिले चन्द्रागिरिमा बस्ने रत्ना सिंह भन्ने महिलाको नाममा जग्गा गएको छ । ती महिलाले ३० लाख साँवा र ब्याज नदिई जग्गा दिन्न भन्छिन् ।’ उनले मिटरब्याजपीडितको रूपमा जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका छन् । तर, शिवसताक्षी– ११ का वडाध्यक्ष बहादुर आङ्बोले फिर्तीनामा कागज प्रमाणित गर्न मानेका छैनन् ।
शिवसताक्षी– ११ कै सुकमती तामाङको घरजग्गा अहिले अर्काकै नाममा पुगेको छ । जग्गा डुबेपछि मानसिक तनावमा रहेका श्रीमान् सन्तबहादुरको पनि मृत्यु भइसक्यो । ०७३ मा फिर्ता गर्ने कागज गर्दै ०७१ मा सन्तबहादुरले जीवन बोहरा र घनश्याम मगरको नाममा १३ कट्ठा जग्गा धितोका रूपमा राजीनामा पास गर्दै २० लाख रुपैयाँ लिए । उनको करोडमाथिको सम्पत्ति हात पारेपछि उनीहरू सम्पर्कविहीन छन् । मिटरब्याजीले सम्पत्ति खाएपछि सन्तबहादुर डिप्रेसनको सिकार भएका थिए ।
उनको पाँच वर्षअघि हृदयाघातका कारण मृत्यु भएको श्रीमती सुकमती बताउँछिन् । ‘मिटरब्याजीले सम्पत्ति खाइदिए । श्रीमान् पनि यही तनावले बिते । अझै घरजग्गा फर्कने टुंगो छैन,’ उनी भन्छिन्, ‘मिटरब्याजीविरुद्ध उजुरी हालेको वडाध्यक्षले फिर्ती कागज प्रमाणीकरण गर्न नमान्दा समस्या भएको छ ।’
०७० मा शिवसताक्षी– ११ का भवानीशंकर नेपाललाई घरायसी कामका लागि तीन लाख रुपैयाँ आवश्यक प¥यो । खेती–किसानी गरेर खाने भवानीशंकरसँग सम्पत्तिको नाममा आठ कट्ठा १२ धुर जग्गा र भत्कन लागेको काठको घर मात्र थियो । छिमेकी खड्गबहादुर काम्बाङसँग तीन लाख लिए । बदलामा उनले जग्गा राजीनामा पास गरिदिए । पैसा तिर्ने समय तीन वर्षको राखियो । पैसा फिर्ता गरेपछि जग्गा फिर्ता गर्ने घरायसी कागज गरियो । भवानीशंकरको निधन भइसक्यो । अहिले जग्गा फर्काउन उनका छोरा महानन्द संघर्ष गरिरहेका छन् ।
‘बुबाले लिएको पैसा तीन वर्ष नपुगी हामीले फिर्ता गर्न खोज्यौँ । उहाँ (खड्गबहादुर)ले लिन मान्नुभएन । तीन वर्ष पुगेपछि पनि पैसा लिन मान्नुभएन । शंका लागेर बुझ्दा त जग्गा हामीबाट गएपछि पनि धेरैजनाको नाममा पुगिसकेछ,’ महानन्द भन्छन्, ‘अहिले पनि तीन लाखको साँवा–ब्याज दिन खोज्दा भोलि–भोलि भन्दै टार्छन् ।’
भवानीशंकरको जग्गा खड्गबहादुरबाट अशोककुमार कोइराला, सुरजकुमार बस्नेत हुँदै अहिले हिमा लिम्बू र हरिमाया पौडेलको संयुक्त नाममा आएको छ । हिमा लिम्बूको संरक्षकमा श्रीमान् डम्बर पुलामी बसेका छन् । उनी माओवादीनिकट वाइसिएलका केन्द्रीय सचिव तथा माओवादी प्रदेश कमिटी सदस्य हुन् । वाइसिएल नेता पुलामीले विगतमा नेपाल परिवारलाई बारम्बार घर खाली गर्न धम्की दिन्थे । तर, पछिल्लो समय उनी मौन छन् ।
जग्गा बेच्न भनेर हेर्ने मान्छे पठाइरहन्छन् । तर, नेपाल परिवारले जग्गाबारे बताएपछि किन्न गएका फर्किने गरेका छन् । यो जग्गा पूर्व–पश्चिम राजमार्गदेखि सात सय मिटर दक्षिणमा मात्र पर्छ । तीन लाखमा डुबेको नेपालको घरजग्गा अहिले करिब दुई करोडको भएको छ । नेपाल परिवारको आयस्रोत नै आठ कट्ठा जग्गा हो । वाइसिएल नेता पुलामीले भने आफूले जग्गा किनेर लिएको बताउँदै आएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजविरुद्ध ११९ वटा उजुरी
जिल्ला प्रशासन कार्यालय झापामा अनुचित लेनदेन तथा मिटरब्याजविरुद्ध एक सय १९ वटा उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा एक सय १६ वटा, दुईवटा उजुरी जाँचबुझ आयोगबाट झापामा आएको र एउटा अन्य जिल्लाबाट आएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जानकारी दिए ।
उनका अनुसार ४६ वटा उजुरीलाई मेलमिलापमा टुंग्याइएको छ । यस्तै, १६ वटा सम्बन्धित निकायमा कारबाहीका लागि लेखिपठाइएको सहायक प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिए । बाँकी उजुरी कारबाहीको प्रक्रियामा रहेको उनले बताए ।
मिटरब्याजको चंगुलमा फसेपछि झापाका मिटरब्याजपीडित संगठित हुन थालेका छन् । उनीहरू मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिमा आबद्ध भएर झापामा समिति गठन भएको संघर्ष समिति केन्द्रीय सदस्य लक्ष्मी घिमिरेले बताइन् । झापामा हाल सयभन्दा बढी मिटरब्याजपीडित संघर्ष समितिको सम्पर्कमा आएको उनको भनाइ छ ।