बिर्तामोडको इस्टर्न सहाराले आइपिओ जारी गर्ने
झापा । झापा बिर्तामोडको इस्टर्न सहारा कम्पनी लिमिटेडले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँको दरले ३० लाख कित्ता आइपिओ जारी गर्ने भएको छ ।
यसका लागि कम्पनीले ग्लोबल आइएमइ क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
यस सम्बन्धमा फागुन १ गते क्यापिटलको रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा कम्पनी र क्यापिटलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
२०७९ सालमा पब्लिक कम्पनीको रुपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको इस्टर्न सहारा कम्पनी लिमिटेडको रजिस्टर्ड (केन्द्रीय) कार्यालय बिर्तामोडको चारपानेमा रहेको छ भने लियाजन काठमाडौँमा रहेको छ ।
कम्पनीले छरिएर रहेको ससानो पुँजीलाई एकीकृत रुपमा परिचालन गर्दै मुख्य रुपमा ग्रिन फाइनान्सिङलाई प्रोमोट गर्ने तथा कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्ने परियोजनामा लगानी गर्ने उद्देश्य राखेको छ ।
हाल कम्पनीले जलविद्युत, कृषि पर्यटन, अटोमोबाइल्स, सौर्य ऊर्जाका क्षेत्रसँग सम्बन्धित परियोजनामा लगानी गरेको छ ।
बैंकिङ, सहकारी, लघुवित्त तथा हाइड्रोपावर क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरु, ख्यातिप्राप्त व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट तथा अन्य प्रोफेसनल लगायतका प्रबुद्ध व्यक्तिहरुको समूहद्वारा संस्थापित र सञ्चालित यस कम्पनीले स्वः पुँजीको क्षेत्रमा आफ्ना लगानीलाई विस्तार र विविधीकरण गरी मुलुकको ग्रिन फाइनान्सिङमा टेवा पुर्याई आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्य लिएको छ ।