यसकारण सशस्त्रले स्थानीयमाथि गर्यो आक्रमण
झापा । सधैँजस्तै शुक्रबार साँझ पनि शान्त थियो मेचीनगर-७ गैरीगाउँ । नेपाल-भारत सीमा नजिकै रहेको यो गाउँमा साँझ छिपिँदै जाँदा कोलाहल मच्चियो । जब सशस्त्र प्रहरी जाँचका लागि नाका नजिक पुग्यो तब गैरीगाउँ अशान्त भयो ।
शुक्रबार साँझ एक महिलाले केही कपडा भारतबाट नेपालतर्फ ल्याउँदै थिइन् । सत्तीघट्टा बिओपीबाट खटिएको सशस्त्र प्रहरीको टोलीको आँखा ती महिलामा पर्यो । ती महिलालाई सशस्त्र प्रहरीले लाठ्ठीले निर्घात कुट्यो । ‘बहिनीलाई कुटेपछि किन यसो गरेको भनेर सोध्दा सुरुमा गोली हान भने । पछि खुकुरीले हामीलाई हाने,’ बिएण्डसी असपतालको बेडबाट घाइते आनन्द यादवले भने,’हामीमाथि अन्धाधुन्द खुकुरी हानियो ।’
सशस्त्र प्रहरीले सधैँ हैरानी दिने गरेको घाइते स्थानीय दीपा बातरले बताइन् । ‘१४ वर्षको नानी कुटेपछि किन कुटेको भन्दा जो आउँछ गाडीले पेल्ने भन्दै हामीमाथि खुकुरी हाने,’ उनले भनिन्, ‘हाम्रो सुरक्षा गर्न बसेको प्रहरीले हामीमाथि नै आक्रमण गर्छ । सधैँ हैरान लगाउँछ ।’ सशस्त्र प्रहरीले भने तस्करी निन्त्रण गर्दा तस्करले ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण हुँदा घटना घटेको दाबी गरेको छ । सशस्त्र प्रहरीले खुकुरी नचलाएको दाबी गरेको छ ।
सशस्त्र प्रहरीको रबैयामाथि प्रश्न : यसअघि पनि गैरीगाउँमा नै भएको थियो घटना
केही महिनाअघि झापाको मेचीनगरस्थित सीमा नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका हवल्दारसहित १५ जना सशस्त्र प्रहरीलाई सशस्त्र प्रहरीले नै निर्घात कुटपिट गर्यो ।
कुटपिट गर्ने सशस्त्र प्रहरीका इन्स्पेक्टर (सशस्त्र प्रहरी निरीक्षक) नमप्रभाव राईसहित जवानहरू रामसुन्दर तामाङ र जीवन बाँस्तोला थिए । उनीहरुले ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई नै मेची नदीको पानीमा चोबल्दै बाँसको भाटाले निर्घात कुटपिट गरेका थिए । सो क्रममा स्थानीयले सादा पोशाकमा रहेका सशस्त्र प्रहरीको कुटाइबाट घाइते बनेका प्रहरीको उद्धार गर्नुपर्यो । कुटपिटमा संलग्न सशस्त्र प्रहरी थिए– सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश (बराह बाहिनी मुख्यालय, सुनसरी) का घुमुवा (सादा पोशाकका प्रहरीहरु) ।
इन्स्पेक्टर राईसहितको कुटपिटबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट नकलबन्दामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरीका हवल्दारहरू गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार शान्तबहादुर राई, सशस्त्र जवान उमेश राजवंशी लगायत घाइते भए । १ नम्बर बाहिनीका डिआइजी अन्जनीकुमार पोखरेल आएपछि झापामा लफडा आइरहेको हो । सशस्त्रले पैसा दिइञ्जेल तस्करी हुँदा पनि आँखा चिम्लिने गरेको छ । पैसा नदिएपछि सामान ओसारपसार गर्ने पोकेलाई पनि हातपात गर्ने गरेको छ ।
यसअघि पनि चाइनिज लाइटर भारत तस्करी गर्ने समूहले काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको चेक पोष्टमा आगो लगाएका थिए।
गत शुक्रबार दिउँसा ३:१५ बजे मेचीनगर–७ गैरीगाउँबाटै डिउटीमा खटिएको सशस्त्र प्रहरीलाईलाई सेटिङ मिलाई लाइटर भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीको घुमुवाले पक्राउ गरेपछि सशस्त्रको अस्थायी टहरामा आगो लगाइएको प्रत्यक्षदर्शीले बताए ।
सेटिङ मिलाउँदा पनि माल पक्रिएको भन्दै तस्करी गर्ने महिलाहरूको समूहले प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाले बनाएको अस्थायी टहरा भत्काएर आगो लगाएको स्रोतले बतायो ।
ड्युटीमा खटिएका सशस्त्रलाई सेटिङ मिलाएर हरेक दिन चाइनिज लाइटर लाखौँ संख्यामा झापाका विभिन्न नाकाबाट भारात तस्करी हुने गरेको छ । तस्करले आगो लगाए पनि सेटिङ मिलाएको खुल्ने डरले प्रस्तावित सिमा सुरक्षा गुल्म काँकडभिट्टाका साहयक प्रहरी निरीक्षक नगेन्द्र खत्रीको कमाण्डमा खटिएको टोलीले तस्करहरुसँग मौखिक सहमति गरेको छ । काहीँकतै उजुरी नगर्ने र तस्करहरूले पुन: यस्तो गतिविधि नगर्ने मौखिक सहमति भएको अडियो रेकर्ड सुरक्षित छ ।
यस अगाडि पनि सशस्त्र प्रहरीका घुमुवा गणेश कोइराला र लाइटर तस्कर महिलाबीच हात हालाहाल भएको र महिलाहरू निलडामय भएको भिडियो समेत ईखरिपाटीसँग सुक्षक्षित छ । सेटिङमा पैसा खाएर तस्करी हुने भए पनि सशस्त्र प्रहरीको विषयमा बोल्दा मुद्दा हाल्ने धम्की दिने गरेकाले चुपचाप बसेको वारिपारि गर्ने एक पोके व्यापारीले बताइन् ।