सत्तासहयात्री फेरिएपछि सदनमा प्रधानमन्त्री–कांग्रेस नोकझोक
काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तासमीकरण फेरबदल हुनुका पाँच कारण प्रस्तुत गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले गठबन्धन परिवर्तन र मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने मुख्य कारक सहयात्री दल कांग्रेस नै भएको दाबी गरे । कांग्रेसले भने सदनबाटै त्यसको प्रतिवाद गर्दै प्रधानमन्त्रीमाथि प्रश्नैप्रश्न उठाएको छ ।
कांग्रेससँग ११ महिनाको सहकार्यमा प्रधानमन्त्री पद सुरक्षित भए पनि परिणाममुखी काम गर्न साथ नपाएकाले नयाँ गठबन्धनमा जानुपरेको प्रधानमन्त्री प्रचण्डको दाबी छ । उनले पहिलो कारण निर्वाचनमा कांग्रेसबाट निरन्तर असहयोग भएको देखाए । ‘गएको निर्वाचनमा माओवादी केन्द्रले जुन तहमा कांगे्रसलाई सघायो, त्यही तहमा आफूले सहयोग पाएन । त्यसले आपसी विश्वास कमजोर बनाएकै थियो, निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट पनि नेतृत्व पछि हट्यो ।
एउटा परिस्थतिमा फेरि जोडिएपछि फेरि कोशी प्रदेशमा त कांग्रेसको एउटा समूहले माओवादीविरुद्ध विद्रोह नै गर्यो । गठबन्धनको नैतिकताको कसीमा त्यो विद्रोह दण्डित हुनुपर्ने थियो, तर पुरस्कृत भयो । अझ राष्ट्रिय सभा निर्वाचनमा त्यो समूहले माओवादी उम्मेदवारलाई अन्तर्घातबाट पराजित नै गर्यो,’ प्रधानमन्त्री प्रचण्डले भने । प्रधानमन्त्रीले देखाएको यो कारणमा कांग्रेसले कुनै प्रतिक्रिया जनाएन । नयाँ पत्रिकाबाट