जसले चाह्यो, उसले सीप पायो
गाेविन्द पाैडेल
राेङ । ‘जसले चाह्यो, उसले सीप पायो’ यो नारा रोङ गाउँपालिकाको हो । इलामको रोङ गाउँपालिकाले सीप सिक्न चाहानेलाई सीप सिकाउन थालेको छ ।
सरकारकाे बजेट सिध्याउने माध्याम बनाइरहेको बेला रोङ गाउँपालिकाले आवश्यकताका आधारमा मात्र सीप सिकाउने भएको छ । लक्षित समूहले तालिम नपाएकाे गुनासाे आइरहेकाे बेलामा राेङ गाउँपालिकाले भने सीप सिकाउन थालेको छ । ‘तीनै तहको सरकारले कसलाई तालिम दियो त्यसको तथ्यांक नै छैन । अब त्यस्तो नहोस् भन्न जसलाई जे र जहाँ तालिम आवश्यकता पर्यो त्यही तालिम दिने कार्यविधि पास गरेका छौँ,’ रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले भने,’किसानको खेतमै तालिम दिन्छौँ। नागरिकता नम्बरबाट कसले के तालिम पाएको छ भन्ने थाहा हुने सफ्टवेयर तयार पारेक छौँ ।’ रोङ गाउँपालिकाका किसानले अनिवार्य र निःशुल्क तालिम पाउने नीति तथा कार्यक्रमले नै ग्यारेन्टी गरेको उनले बताए ।
कुनै पनि तालिम चाहिएर दश जनाकाे समूहले प्रक्रियागत माग गरेमा तत्कालै सञ्चालन गरिने व्यवस्ता गरिएकाे अध्यक्ष स्याङ्बोले बताए ।
जसमा स्टेसनरी, प्रशिक्षक र खाजाकाे व्यवस्था पालिकाले गर्नेछ । गाउँपालिकाभित्रका ५६ वटा सभाहलकाे व्यवस्था गरिएको छ । जसमा ३० वटा सामुदायिक विद्यालय, छवटा वडा कार्यालय,पाँचवटा स्वास्थ्य चाैकी, तीनवटा सहकारी भवन, तीनवटा सामुदियक वन, दुई/ दुई सत्सङ र गाउँपालिकाे हल, सामुदायिक अध्ययन केन्द्र, कवर्ड तयारी अवस्थामा राखिएको उनले बताए ।
विभिन्न बिधागत तालिमहरूकाे माग भएमा सम्भव भए पालिकाभित्रका सहजकर्ता प्रयाेग हुने नभए पालिकाले विषयविज्ञ ल्याएर भए पनि तालिम सञ्चालन गरिरेर नागरिकलाई सिपालु बनाउने लक्ष्य राखेकाे अध्यक्ष स्याङ्बोले बताए ।
तालिम प्राप्त नागरिककाे लागि कुनै व्यवसाय गर्न आवश्यक रहेमा वा आवश्यकता माग गरेमा मापदण्डअनुसार प्राविधिक सहयाेग उपलब्ध गराउने उनले बताए ।