पूर्वप्रधानमन्त्री खनालद्वारा सडकको अवलोकन
झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा (एस)का सम्मानित नेता झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रका बाटोघोटोको अवलोकन गरेका छन् ।
बिहीबार पूर्वप्रधानमन्त्री खनालले तीनघरे-शान्पिुर-झापा सडकको अवलोक गर्दै स्थानियवासीका गुनासो सुने । उनले तीनघरे-शान्तिपुर-झापा सडकलाई पक्की सडकको रूपमा अघि बढाउन कुनै पनि कसर बाँकी नराख्ने बताए । ‘यो बाटोको ट्र्याक खोल्ने पहल पनि मैले नै गरेको हो अब बाह्रै महिना चल्ने सडक भइसक्यो यसलाई पिच गरेर यस भेगका जनातको जीवनस्तर उकास्न सरकारसँग पहल गर्छु, ’ उनले भने ।
झापाको बिर्तामोडबाट शान्पिुर हुँदै तीनघरे निस्कने सडकलाई कालेपत्रे गर्न सके इलामबाट बिर्तामोड आउन १८ किलो मिटर दुरी छोटो हुने रोङ गाउँपालिकाका अध्यक्ष सुवास तामाङले बताए । यो सडकले राम्रो बन्दा इलामको सूर्योदय नगरपालिका, रोङ गाउँपालिका र झापाको अर्जुधार नगरपालिकाका हजारौँ नागरिक लाभान्वित हुने अध्यक्ष तामाङले बताए ।
यसैबीच पूर्व प्रधानमन्त्री खनालले मदन भण्डारी राजमार्गको अवलोकन गर्दै रूखकटानको समस्याको कारण सडक निर्माणको काममा भएको ढिला सुस्तीको बारेमा तत्काल सहजीकरण गर्ने बताए । उनले नम्बरिङ भइसकेको रुख कटामा भएको ढिलासुस्तिको विषयलाई तत्काल समाधान गर्न पहल गर्ने बताए । भण्डारी राजमार्गको सीमा क्षेत्र पाटापुरमा बसपार्क र सीमावती मेची नदीमा पुलको लागि पहल थालिएको बताए।