सुदूरपश्चिममा नेकपा एसका उम्मेदवारप्रति एमालेको विमति
धनगढी । एमालेले केन्द्रको निर्देशन नआएसम्म एकीकृत समाजवादीलाई समर्थन गर्न नसकिने जनाएपछि सुदूरपश्चिमको मुख्यमन्त्री चयन अन्योलमा परेको छ । सत्ता गठबन्धनमा सुदूरपश्चिमको नेतृत्व समाजवादीलाई दिने मंगलबार सहमति भए पनि एमालेले समर्थन नगर्दा सरकार गठन प्रक्रिया लम्बिएको हो ।
समाजवादीको बुधबारको सचिवालय बैठकले प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरिसकेको छ । तर, एमालेले उनलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने र अर्को पठाउनुपर्ने अडान लिएको छ । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले पार्टीबाट स्पष्ट निर्देशन नआएसम्म समर्थन गर्न नसकिने बताए । ‘हालसम्म खाका तयार भएको छैन । बिहीबारसम्म दाबी पेस गर्ने समयभित्र के निर्देशन आउँछ, त्यही गर्छौं,’ उनले भने ।
यसअघि सत्ता गठबन्धनमा सुदूरपश्चिमको नेतृत्व नागरिक उन्मुक्ति र समाजवादीले आलोपालो गर्ने भन्ने थियो । तर, पहिला उन्मुक्तिले नेतृत्व गर्ने निर्णयमा असहमति जनाउँदै समाजवादीले सत्ता गठबन्धनविरुद्ध गएपछि हलचल भएको थियो । समाजवादीले कांग्रेस, राप्रपासँग सहकार्य गरेर नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।