भारतमा आजबाट लोकसभा चुनाव
चुनावमा २५०० भन्दा बढी राजनीतिक दलले भाग लिए पनि मुख्य प्रतिस्पर्धा भने केही दलबीच मात्र हुने
एजेन्सी । सात चरणमा हुने भारतको आम निर्वाचनको पहिलो चरण आज देशका २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा हुँदै छ । भारतको संसद्को तल्लो सदन लोकसभाका ५४३ सदस्य चयन गर्न यसपटक ९६ करोड ९० लाख मतदाताले मतदाताका रूपमा नाम दर्ता गराएका छन् । विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास मानिने भारतीय आम निर्वाचनमा २५०० भन्दा बढी राजनीतिक दल सहभागी हुनेछन् ।
सयौँ दलले चुनावमा उम्मेदवार उठाए पनि शीर्ष १० दलले मात्रै हाल लोकसभामा ८६ प्रतिशत सिट ओगटेका छन् । विगतमा जस्तै यसपटक पनि अधिकांश निर्वाचन क्षेत्रमा आधा दर्जनजति दलका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुनेछ । यसपटकको लोकसभा सिटका अधिकांश सिटमा प्रतिस्पर्धा गर्ने मुख्य दलको यहाँ चर्चा गरिएको छ ।
भारतीय जनता पार्टी (भाजपा)भारतको केन्द्रको सत्तारुढ दल भारतीय जनता पार्टी(भाजपा) आफू विश्वको सबैभन्दा ठूलो राजनीतिक संगठन भएको दाबी गर्छ । पार्टीका अनुसार ऊसँग झन्डै १८ करोड सदस्य छन् । सन् १९८० मा भारतीय जनसंघबाट भाजपाको जन्म भएको थियो ।
यो उग्र दक्षिणपन्थी हिन्दू राष्ट्रवादी संगठन ‘राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)’ को राजनीतिक शाखा हो । युरोपेली जातीयवादी आन्दोलन र फासिस्ट पार्टीहरूको स्वरूपमा सन् १९२५ मा गठन भएको आरएसएसको मूल उद्देश्य भारतलाई हिन्दू राष्ट्र बनाउने छ र ऊ आज भाजपासहित दर्जनौँ हिन्दूवादी समूहहरूको माउ संगठन तथा वैचारिक स्रोत हो । संगठनले मोदीलगायत भाजपाका अधिकांश शीर्ष नेताहरूलाई यसको आजीवन सदस्यको रूपमा गणना गर्छ ।
सन् १९७५ मा कंग्रेसकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल लगाएपछि भाजपाको स्थापना प्रयास भएको थियो । तत्कालीन भारतीय जनसंघका नेता अटल विहारी वाजपेयी आपत्कालविरोधी गठबन्धनमा थिए, जुन गठबन्धन अन्ततः सन् १९७७ मा सत्तामा पुर्यो । तर, राजनीतिक कलहका कारण दुई वर्षमै गठबन्धन टुट्यो र वाजपेयीले आफ्ना निकट सहयोगी लालकृष्ण आडवाणीसँग मिलेर सन् १९८० मा भाजपा गठन गरे ।
सन् १९९६ मा वाजपेयी भाजपाको पहिलो प्रधानमन्त्री बने । तर, उनको सरकार १३ दिन मात्र टिक्यो । त्यसपछि वाजपेयी सन् १९९८ देखि सन् १९९९ बीच १३ महिना र सन् १९९९ देखि पाँच वर्षका लागि सत्तामा फर्किए । वाजपेयी पूर्ण कार्यकाल प्रधानमन्त्री रहने पहिलो गैरकंग्रेस प्रधानमन्त्रीसमेत बनेका थिए ।
गुजरातको पश्चिमी राज्यमा जन्मेका ७३ वर्षीय वर्तमान प्रधानमन्त्री मोदी आरएसएस पूर्वसदस्य हुन् । उनी भाजपा निर्माण हुनुअघि जनसंघमा आबद्ध थिए । मोदी वर्षौं लामो राजनीतिको तल्लो स्तरमा काम गरेर गुजरातको उच्च राजनीतिक पदमा पुगेका थिए । उनी एक दशकभन्दा बढी समय गुजरातका मुख्यमन्त्री थिए । सन् २०१४ मा मोदीले भाजपाको नेतृत्वमा आफ्नै बलमा पहिलोपटक बहुमतको सरकार गठन गरे । त्यसपछि उनी निरन्तर सत्तामा छन् । अघिल्लो निर्वाचनमा २९६ सांसद जिताएका मोदी यसपटक पनि उत्तर प्रदेश राज्यको वाराणसीबाट तेस्रो कार्यकालका लागि उम्मेदवार बन्दै छन् ।
भारतीय राष्ट्रिय कंग्रेस
कंग्रेस भारतको सबैभन्दा पुरानो राजनीतिक पार्टी हो । यो जुन १८८५ मा ब्रिटिसहरूले भारतीय उपमहाद्वीपमा शासन गरेका वेला गठन भएको थियो र ऊ भारतमा बेलायतको शासन अन्त्य गर्ने मुख्य शक्ति थियो । सन् १९४७ मा भारत स्वतन्त्र भएयताका झन्डै दुईतिहाइ समय यही पार्टीले शासन गर्यो । पश्चिमा देशमा पढेका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूलाई भारतको उदार र धर्मनिरपेक्ष जग बसालेको जस दिइन्छ । नेहरूकी छोरी इन्दिरा गान्धी भारतको पहिलो महिला प्रधानमन्त्री भइन् ।
कंग्रेसले नै सन् १९९१ मा ऐतिहासिक आर्थिक सुधार लागू गरेको थियो, जुन सुधारले भारतमा खुला बजार अर्थतन्त्रको विकासका लागि ढोका खोल्यो । तथापि, सन् २०१४ देखि यो पार्टीको संसदीय सिट निकै खुम्चिएर दोस्रो दल बन्न पुगेको छ । अघिल्लोपटकको चुनावमा यस पार्टीले ५१ सिट जितेको थियो ।
कंग्रेस नेता राहुल गान्धीले पछिल्लो संसदीय चुनाव (सन् २०१९ )मा पार्टीले नराम्रो प्रदर्शन गरेपछि पार्टी प्रमुखको पदबाट राजीनामा दिएका थिए । यसका बाबजुद चारपटकका सांसद ५३ वर्षीय राहुल भारतको विपक्षी राजनीतिको केन्द्रमा छन् र मोदीको मुख्य निसाना बनेका छन् ।
गान्धी–नेहरू वंशका सदस्य राहुलका बुबा राजीव गान्धी, हजुरआमा इन्दिरा र हजुरबुबा नेहरू सबै देशका प्रधानमन्त्री बने र ३७ वर्षभन्दा बढी समय देशको नेतृत्वमा रहे । हाल राहुल गान्धी कंग्रेस नेतृत्वको २६ सदस्यीय विपक्षी गठबन्धन ‘भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (आएनडिआइए)’का मुख्य नेता हुन् । उनले आफ्नो चुनावी अभियानलाई बलियो बनाउन र ग्रामीण समस्या, बेरोजगारी र आय असमानताजस्ता विद्यमान असन्तुष्टिमा मतदाताको ध्यानाकर्षण गर्न दुईपटक देशव्यापी यात्रा (भारत जोडो यात्रा) गरे । गान्धी यस वर्षको चुनावमा दक्षिणी राज्य केरलाको वायनाडबाट चुनाव लड्दै छन् ।
आम आदमी पार्टी
सन् २०११ मा एक शक्तिशाली भ्रष्टाचारविरोधी आन्दोलनबाट आम आदमी पार्टीको उदय भयो । त्यस समय सत्तारुढ कंग्रेस सरकार एकपछि अर्को भ्रष्टाचार प्रकरणमा फसेको थियो । ती प्रकरणको विरोधमा अभियन्ता अन्ना हजारेको नेतृत्वमा प्रभावकारी आन्दोलन उठ्यो । त्यस अभियानमा हजारेका निकट सहयोगीमध्ये एक थिए, सरकारी पूर्वकर्मचारी अरविन्द केजरिवाल ।
केजरिवालले पछि गएर आम आदमी पार्टी गठन गरे । यस चुनावमा आम आदमी भारत गठबन्धनको एउटा महत्वपूर्ण हिस्सा हो । प्रधानमन्त्री मोदीका कट्टर आलोचक केजरिवाल आम आदमी स्थापना गरेको तीन वर्षभित्रै सन् २०१५ मा राष्ट्रिय राजधानी दिल्लीमा राज्य सरकार गठन गर्न सफल भएका थिए । केजरिवाल त्यसयता निरन्तर दिल्लीका मुख्यमन्त्री छन् । यो पार्टी पन्जाब राज्यमा पनि सरकार चलाउन सफल भयो ।
आम आदमीको उदय भाजपा र कंग्रेसजस्तै स्थापित पार्टीका लागि एक अप्रत्याशित राजनीतिक उथलपुथल थियो । यसपटक पार्टी नेता केजरिवाललगायत कैयौँ शीर्ष नेता भ्रष्टाचार मुद्दामा जेलमा भएकाले उसको चुनावी अभियानमा असर परेको छ । तर, पार्टीले नेताहरूमाथि लागेको आरोपलाई राजनीतिक स्वार्थबाट प्रेरित भएको र केजरिवालको छवि बिगार्ने प्रयास भन्दै त्यसलाई खारेज गरेको छ ।
द्रविड मुनेत्र कझगम (डिएमके )
भारतको दक्षिण भेगमा अवस्थित तमिलनाडु राज्यको बलियो क्षेत्रीय दल डिएमके संसद्को तल्लो सदन लोकसभाको तेस्रो ठूलो दल हो । योसँग २० सांसद छन् । राष्ट्रिय राजनीतिमा कंग्रेसको सहयोगी दल डिएमकेले तमिलनाडु राज्यमा सरकार पनि बनाएको छ । पार्टीले उसको शासन रहेको राज्य तमिलनाडुमा उच्च साक्षरता दर र अन्य विकास सूचकांक निकालेकोमा गर्व गर्छ ।
अखिल भारतीय तृणमूल कंग्रेस (टिएमसी)
सन् २०१९ को लोकभास चुनावमा १९ सांसदसहति चौथो ठूलो पार्टी तृणमूल कंग्रेसको पश्चिम बंगालमा सरकार छ । सो राज्यमा भाजपाले उसलाई बलियो टक्कर दिएको छ । टिएमसी कंग्रेसबाट अलग भएर गठन भएको पार्टी हो, जो लगभग २५ वर्षपहिले अस्तित्वमा आएको थियो । पार्टीकी संस्थापक ममता बनर्जी लगभग १३ वर्षदेखि पश्चिम बंगालकी मुख्यमन्त्री छिन् । यस चुनावमा भजापासँग मिलेर प्रतिस्पर्धा गर्न अनिच्छुक ममता कंग्रेस गठबन्धनसँग नजिक छिन् । उनको पार्टी इन्डिया गठबन्धनमा सामेल छ, तर बंगालको संसदीय सिटमा सिट बाँडफाटलाई लिएर पार्टीले सहमति जुटाउन सकेन । चुनावमा टिएमसी उम्मेदवारमध्ये एक महुआ मोइत्रा पनि हुन्, जो गतवर्ष घुसखोरीको आरोपमा संसद्बाट निष्कासनमा परेकी थिइन् ।
– अलजजिराबाट