गोली लागि घाइते किशोरीको उपचारमा आर्थिक सहयोग जुट्दै
झापा । एक व्यक्तिको गोली प्रहारबाट घाइते भएकी किशोरीको उपचारमा सहयोग जुट्न थालेको छ । उपचारमा पैसा अभाव भएपछि उनको परिवारले आर्थिक सहयोगको अपिल गरेको थियो ।
गत २१ बैशाखमा एक व्यक्तिले गोली प्रहार गर्दा हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत ती किशोरी गम्भीर घाइते भएकी थिइन् । उनी अहिले लाइफलाइन अस्पताल दमकमा उपचाररत छिन् । उनको उपचारमा आर्थिक अभाव भएपछि हिमालय माध्यामिक विद्यालयले शिक्षक र विद्यार्थीबाट संकलन गरेको नगद ४५ हजार १३६ रुपैयाँ सहयोग गरेको छ ।
यस्तै, गणेश आइफोन सेन्टरका सञ्चालक गणेशकुमार श्रेष्ठले नगद २५ हजार सहयोग गरेका छन् । किशोरीको उपचारका लागि गोर्खा ब्रिक्स प्रालिले नगद १५ हजार सहयोग गरेका छन् । उक्त रकम किशोरीकी दिदी दुर्गा गजमेरलाई हस्तान्तरण गरिएको थियो । किशोरीकी दिदी दुर्गाले सहयोगीलाई धन्यवाद दिइन् । उनले आफ्नो परिवार आर्थिक रूपमा विपन्न भएको र बहिनीको उपचनरमा समस्या भएका कारण सहयोगका लागि सबैलाई अपिल गरिन् । अस्पताल र फार्मेसीमा ६ लाख बढी रकम उठेको छ । अन्य केही व्यक्ति संघसंस्थाले पनि सहयोगको आश्वासन दिएका छन् ।
इलाा प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक निशान थापा दैनिक अस्पताल पुगेर उपचाररत किशोरीलाई र उनको परिवारलाई हौसला दिँदै आएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले गोली प्रहारमा संलग्नको खोजीका लागि प्रहरीले गम्भीर रूपमा काम गरिरहेको बताए ।